डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन

  मनास्लु पोष्ट  655 पटक हेरिएको


काठमाडौं, २५ पुस – अदालतको मानहानी गरेको आरोपमा गएराति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

डा केसीका समर्थकहरुले उहाँको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उहाँका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै हिजो अनसनमा बस्नुभएको थियो ।

आज सर्वोच्चमा हाजिर

अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा गोविन्द केसीलाई आज सर्वोच्चमा हाजिर गराइने भएको छ । प्रधान न्यायधिशको राजिनामा माग गर्दै अनसन थालेपछि पक्राउ परेका केसीलाई आज सर्वोच्चमा हाजिर गराइने भएको हो ।

सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले अवहेलनाका कारण कारबाही गर्नुपर्ने प्रतिवेदन सर्वोच्चमा दर्ता गरेलगत्तै केसीलाई अदालत बुझाउन भनिएको हो । न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा गोविन्द केसीलाई विनाजानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाउनुभएको छ । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा असहमति जनाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार