काठमाडौं, सर्वोच्च अदालतको अवहेलना मुद्दामा पक्राउ परेका चिकित्सक डा. गोविन्द केसीलाई रिहा गरिएको छ। केसीलाई सामान्य तारेखमा रिहाइ गरिएको हो। सोमबार राति त्रिवि शिक्षण अस्पतालमा अनशनमा बसेका बेला पक्राउ गरिएका डा. केसीलाई मंगलबार सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो।
डा. केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका थिए। उनले उक्त अवसरमा अदालतलाई अवहेलना हुने अभिव्यक्ति दिएको भन्दै सर्वोच्चका कर्मचारीले मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दाको न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले फैसला गरेको हो।
न्यायाधीशद्वयको फैसलामा डा। केसीलाई उनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको जिम्मामा छोड्न भनिएको छ। साथै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लगाएको आरोपबारे छानविन गर्न पनि अदालतले आदेश दिएको छ।
आदेशमा भनिएको छ, सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिपिहरु समेत झिकाउनु। डा. केसीले उठाएको त्रिवि शिक्षण अस्पतालका कुलपतिबारेको फैसला समेत झिकाउन आदेश दिएको छ।