प्रिय बाबुराम भट्टराई, रवीन्द्र मिश्र, उज्ज्वल थापा, नयाँ शक्ति नेपाल र बिबेकशील नेपाली दलका सम्पूर्ण अभियन्ता मित्रहरु लगायत गोविन्द केशी, लीलामणि पौडेल, अनिल शाह, राजेश हमाल, मह जोडीलगायत नेपालको समृद्धि र विकास चाहने सबैलाई नमस्कार ।
तपाईंहरु सबै नेपाल र नेपालीको समृद्धि चाहने पुराना दल र शाशकले गरको अकर्मन्यता, भ्रस्टाचार र कुसासनलार्इ हटाउन पुराना दलका पुराना एक मुट्ठी नेताहरुले गरेको गल्ती, कमजोरी र सीमित स्वार्थबाट बन्धक बनेको देशले निकाश पाउनुपर्ने कुराप्रति एकमत देखिन्छ । जुन कुराको नेतृत्व केही हदसम्म बैचारिक तथा कार्यगत रुपमा यहाँहरुमा रहेको कुरा आजको दिनमा आम बुद्धिजीवी, युवा र परिवर्तन चाहने नेपाली सहमत रहेको छ ।
यदि तपार्इंहरु सबैको स्वार्थ नेपाल र नेपालीको समृद्धि नै हो, देश नै बनाउने हो भने इमानदार र सदचार व्यक्तिहरु किन यसरी चिराचिरा परेर आ-आफ्नै डम्फु बजाउने ? अनि भ्रष्ट, सत्तालिप्सा र निजी स्वार्थ बोकेका समूह चाहिँ एक हुँदै, मिल्दै जाने कस्तो परिपाटी हो ? एकपटक तपाईंहरु आफैं सोचिदिनुस् भन्ने बिनम्र अनुरोध गर्दछु । किन तपाईंहरु एक नहुने ? केले तपाईंहरुलाई एकताको सूत्रमा बाँध्न रोकेको छ ?
हेर्नुस त समानुपातिक भनि दलित, उत्पीडित, शोषित, जनजाति, अल्पसंख्यक इत्यादि भन्दै लिइएको मतलार्इ पार्टीलाई चन्दा दिने ब्यापारीलार्इ बेचेका दलहरुको दबदबा, भ्रस्टाचारको मुद्दा प्रमाणित भर्इ जेल पुगेकाहरुलाई अत्यधिक मतले विजयी गराउने दल तिनको शङ्कास्पद निर्वाचन प्रणाली, सधैंभरि मुठीभर ५-७ नेताहरु नै सत्तामा आउन, पटक-पटक परीक्षितहरु फेरी पद र शक्तिका लागि नैतिकता छोडेर लडिरहेको परिदृश्य, तिनका कर्मचारी संगठन, भातृ संगठनले निभाएको उल्टो भूमिका, विश्वविध्यालयमा राजनीतिक भागवण्डा, राजदूतहरु दलको खल्तीबाट आउने, अझ हुँदाहुँदै देशको राष्ट्रियता रक्षा गर्ने दूत म्यानपावर दलालहरुलाई बिक्री गर्ने ? योग्यता हैन, दलको झोला बोकेको आधारमा बन्ने कस्तो परिपाटी ?
मुलुकको हरेक गतिविधिलार्इ भागबन्डा र भ्रष्टीकरण , जनताका दैनिक जनजीविकाका मागहरुको बेवास्ता मिलेर खाने नाममा हुने सहमति र एकताहरु अनि तपाईंहरुले अलाप्ने नैतिकता र सदाचार साना-साना आकारका मधुरा भिन्नाभिन्नै डम्फुहरु ।
हो, यहाँहरुलाई लाग्दो हो, राम्रो काम र विचार एक सानै भए काफी छ । तर, भ्रस्टाचार र निरंकुशता ब्याप्त समाज; गरिवी, पछौटेपन अभावको मारमा पिल्सिएका जनतालाई तपाईंहरुले बजाएको नैतिकता र सदाचारको मीठो रागभन्दा क्षणिक रुपमा कुनियतले नै भए पनि यी भ्रष्ट खेलाडीहरुले फ्याँकेको आशाको रोटी, एक कप चिया, एक गिलास रक्सी र प्रलोभन नै सही मान्नुपर्ने बाध्यताहरु छन् |
उनीहरुसँग सत्ता छ, शक्ति छ, पैसा छ, गुण्डागर्दीका हतियार सबै उनीहरुसँग छ | उनीहरु संगठित छन् । तपाईंहरुसँग यी कलियुगका हतियार छैनन्, केवल नैतिकता र सदाचारको बलबाहेक । अनि विखण्डित हुनुहुन्छ, सबैलाई ठूलो हुनुपरेको छ |
सबैलाई विवेकी, सबैलाई महान नैतिकवान हुनुपरेको छ । शिक्षादीक्षा दिने काम चाँहि नहुने, भए पनि एउटा स्कुल, एउटा विद्यालय, एउटा सामाजिक संस्था बनाएर मुलुक सबै कसरी परिवर्तन होला ? विभिन्न बुद्धिजीवी र देशको चिन्ता लिनेहरुले दिने दीक्षा र फगत बोलले मात्र देश कसरी बन्ला ? यी प्रवृत्ति र समाजमा भनिने गरेको खोक्रो आदर्शमा के फरक भयो र ?
दोश्रो प्रसङ्ग
नयाँ शक्ति नेपाल र विवेकशील नेपाली दल नयाँ परिवेशमा नयाँ राजनीतिको सुरुवात गर्ने अठोट लिएर अघि बढेका शक्ति हुन् । दुबैले सुशाशन र सदाचारितालार्इ मुलमन्त्र बनार्इ राजनीतिक गतिविधि सुरु गरेका छन् ।
अहिलेको परिवेशमा बिबेकशील नेपाली दलले भूकम्पको ताका गरेको हेल्प डेस्क सुरुवात, विभिन्न मानव अधिकार, जनजीविकाका सवालहरु र सहयोग यति नयाँ ढंगले निस्वार्थ रुपमा सायद कुनै पार्टीले नेपालमा गर्न सकेनन् ।
त्यस्तैगरी विवेकशील नेपालीले डा. गोविन्द केसीको मागमा समर्थन गर्नेदेखि विविध जनजीविकाका मुद्दाहरु लगातार उठान गर्दै आएको छ भने अर्कोतिर नयाँ शक्ति दल छोटो समयमा पार्टी घोषणा गरी विश्वभर सञ्जाल बनाउन सफल विभिन्न पार्टीहरुबाट यसमा प्रवेश गरेका जुझारु कार्यकर्ताहरु, पाँच स को मुलमन्त्र र प्रतक्ष निर्वाचित राष्ट्रपतिको माग यस दलका प्रमुख आकर्षण हुन् ।