काठमाडौं, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ राजनीतिक दलले दल दर्ता गरेका छन्। निर्वाचन आयोगले शुक्रबारसम्मको अन्तिम मिति राखेर दल दर्ताका लागि १५ दिनको म्याद दिएको थियो।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागिता जनाउनका लागि निवेदन दिने दलहरुमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमाले, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने कार्यलाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रमसमेत प्रकाशित भइसकेको छ। निर्वाचन कार्यतालिका अनुसार भोलि पुस २९ गते सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ।