आज बसेको मन्त्री परिषद बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्ने अपेक्षा थियो । तर, उनले कसैले नसोचेका निर्णयहरु गराए । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण हो, २०३६ धनकुटाको छिन्ताङमा राज्यद्वारा मारिएका १६ जना राजनीतिक कार्यकर्ता र सर्वसाधारणहरुलाई शहीद घोषणा गर्ने निर्णय ।
पूर्वमा तत्कालिन नेकपा (माले) का नेता कार्यकर्ताहरुको गतिविधिको केन्द्र थियो धनकुटाको दुर्गम गाउँ छिन्ताङ्ग । प्रधानमन्त्री थिए, धनकुटाबाटै राष्ट्रिय पञ्चायतमा निर्वाचित सूर्यबहादुर थापा । आफ्नो जिल्लामा कम्युनिष्टहरुको प्रभाव बढेको अनुदार छवीका प्रधानमन्त्री थापालाई मन पर्ने कुरै थिएन । त्यसैले, उनले प्रहरी प्रशासनलाई कम्युनिष्ट गतिविधि नियन्त्रणको आदेश दिए ।
प्रधानमन्त्री थापाको आदेशपछि प्रहरीले अपरेशन सुरु गर्योक। छिन्ताङ गाउँभरि प्रहरी छ्याप्छ्याप्ती भए । मालेका कार्यकर्ताहरु लुकेको आशंकामा उनीहरुले घरघरबाटबाट मानिसहरुलाई निकाल्दै गोली ठोक्दै हत्या गर्न थाले। २०३६ कार्तिक २६–२९ सम्म गरिएको प्रहरी अपरेशनमा तत्कालिन नेकपा (माले) समर्थक र सर्वसाधारण गरी १६ जना मारिए। मारिनेमा २ जना महिलासमेत थिए।
मारिनेहरुमा शुक्रबारको मन्त्री परिषदका् बैठकबाट शहीद घोषणा गरिएका गोपाल आनन्द राई, झगेन्द्र राई, गंगाबहादुर तुप्रिहाङ, लाखमान राई, टंकबहादुर बिक, गंभीरमान दर्जी, रणध्वज पुमा राई, गणेश विश्वकर्मा, पुत्रमान राई, भैरवबहादुर खालिङ, चन्द्रबहादुर दमाई, केशरमान राई, बलबहादुर खत्री थिए भने दुई महिलाहरुमा रामकुमारी राई र हाङ्खिमा साइँली राई थिए।
‘जो जो मारिए, उनीहरु सर्वसाधारण थिए, तत्कालिन मालेको समर्थन गर्थे’ २०६४ को संविधान सभा निर्वाचनमा धनकुटाबाट निर्वाचित माओवादी नेता हेमराज भण्डारी भन्छन्, ‘नेकपा (माले) का नेता–कार्यकर्ताहरुलाई सेल्टर दिएको रिसमा उनीहरुको हत्या गरियो।’ मारिने मध्ये कतिपयलाई भीरबाट लडाएर र कतिपयलाई पानीमा डुबाएर समेत हत्या गरिएको थियो।
यसरी राज्यबाट मारिएपनि उनीहरुले बहुदलकालभरि शहीदको दर्जा पाएनन् जबकि, त्यस अवधिमा एमाले पटक पटक सरकारमा पुग्यो। लोकतन्त्रको पुनस्र्थापनापछि पनि एमालेबाट माधब नेपाल, झलनाथ खनाल र केपी ओली प्रधानमन्त्री बने। तर, उनीहरुका पालामा पनि धनकुटामा मारिएकाहरुलाई शहीद घोषणा गरिएन। माओवादीले पनि आफू सरकारमा छँदा उनीहरुलाई शहीदको दर्जा दिने प्रयास गरेन।
तर, बहिर्गमनको तयारीमा रहेका प्रधानमन्त्री देउवाको मन्त्री परिषदले ३८ वर्षअघि सूर्यबहादुर थापा प्रधानमन्त्री छँदा छिन्ताङमा मारिएकाहरुलाई शहीदको दर्जा दिएको छ। त्यो पनि तिनै थापाका छोरा सुनिलबहादुर थापा मन्त्री रहेको क्याविनेटबाट निर्णय गराएर। राप्रपा (प्रजातान्त्रिक) को महामन्त्री समेत रहेका थापा बर्तमान मन्त्री परिषद्मा उद्योगमन्त्री छन्।