संखुवासभामा जीप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु

  मनास्लु पोष्ट  553 पटक हेरिएको


सं‌खुवासभा, संखुवासभाको मकालु गाउँपालिका ३ समाटारमा आइतबार जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको ज्यान गएको छ ।

सदरमुकाम खाँदबारीबाट भोटखोला गाविसस्थित गोलामा भुकम्पसम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रमका लागि जाँदै गरेको बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव विभत्स अवस्थामा भेटिएको स्थानीयबासीले बताएका छन् । यो दुर्घटनामा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनःनिर्माण कार्यालयका इन्जिनियर अर्जुन बस्नेत, सुदिप ढकाल र गाडी चालक छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काका अनुसार सवारी चालकको सनाखत भएको छैन । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । जीप दुर्घटनाको कारण खुलेको छैन ।

भूकम्पीय आवास पुनः निर्माण आयोजना काठमाडौंबाट आएको जीप दुर्घटनामा परेको हो । घटनास्थल सदरमुकाम खाँदबारीबाट ७० किलोमिटर उत्तरमा पर्छ । घटनापछि उद्धारका लागि पुगेको सेना र प्रहरीको टोली शव संकलन गरेर पोस्टमार्टमका लागि खाँदबारीतर्फ पठाएको छ । अन्य घाइतेलाई पनि उपचारका लागि खाँदबारी पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार