मन बहादुर पुन
माघ १ काठमाडौ । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा आज भृकुटीमण्डपमा मगर समुदायको राष्ट्रिय पर्व माघे सकराती शुभकामना तथा बृहतसांस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न भएको छ ।
माघे सकरातीलाई मगर समुदायले प्रमुख चाडको रुपमा मनाउने गरेका छन । यस बर्ष उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भृकुटीमण्डपमा मगर समुदायले भव्य रुपमा माघे सकराती मनाएका छन ।
भृकुटीमण्डपमा मगर जातिको परम्परागत परिकारका स्टल र मगर समुदायमा प्रचलित मगरहरुको पहिचान झल्कने सांस्कृतिक झाँकी, कौराह, सोरठी, घाटु, साथमा राष्टिय कलाकारहरुको प्रस्तुतीहरु रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ ।
उहाँले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताउनुभयो ।
उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राख्नुभयो । “मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्”, उहाँले भन्नुभयो, “समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।” उहाँले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राख्नुभयो ।
उहाँले नेपालका आदिवासी जनजातिहरु आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गर्नुभयो । सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उहाँको जोड थियो ।
उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताउनुभयो ।“सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो”, उहाँले भन्नुभयो ।
उपराष्ट्रपति पुनले समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताका लागि मगर समुदायको ठूलो भूमिका हुने बताउनुभयो ।
मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको भन्दै उहाँले आधुनिक नेपाल राष्ट्रको निर्माणमा होस् या वर्तमानका राजनीतिक उपलब्धि प्राप्त गर्न होस्, दुवै संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको चर्चा गर्नुभयो ।
मावेशी व्यवस्थाले आदिवासी जनजातिलगायत उत्पीडित समुदायको राज्यमा प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।”
कार्यक्रममा नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर, संघ उपाध्यक्ष गंगा मगर र सल्लाहकार वमकुमारी मगरलगायतले संघीयतामा राज्यले मगरात राज्यको छुट्टै स्थापना गर्न माग गर्नुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
फोटो हेर्नुहोस ।