काठमाडौं, राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा तालमेल गरेर जानेबारेमा सहमति गर्नका लागि बसेको वाम गठबन्धन र राष्ट्रिय जनता पार्टी एवम् संघीय समाजवादी फोरमबीचको बैठक विना सहमति सकिएको छ । राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालले एमाले र माओवादीसँग राज्य पुनर्संरचना सहित संविधान संशोधन गर्नेबारेमा प्रतिवद्धता माग गरेपछि राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति हुन नसकेको हो ।
राज्य पुनर्संरचना र संविधान संशोधन गर्नुपर्ने प्रस्तावका कारण राष्ट्रियसभा निर्वाचन र सरकार गठनमा तालमेल गरेर जाने विषयमा सहमति जुट्न सक्ने अवस्था नदेखिएको एमाले नेता सुवास नेम्वाङले बताए । मंगलबार एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दोस्रो बैठकमा वाम गठबन्धनले प्रदेश २ मा सरकार बनाउन समेत सहकार्य हुने गरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने राजपा फोरमलाई प्रस्ताव गरेको थियो। उक्त विषयमा मंगलबार विहान र दिउँसो गरी दुई चरणमा बसेका बैठक विना निष्कर्ष टुंगिएका हुन् । विहानको बैठकमा सकरात्मक देखिएका राजपा र फोरमले दिउँसोको बैठकमा भने राज्य पुनर्संरचना सहित संविधान संशोधनका लागि प्रतिवद्धता माग गरेका थिए ।
राजपा नेता वृशेषचन्द्र लालले राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्न वाम गठबन्धनबाट प्रतिवद्धता आउनुपर्ने प्रस्ताव गरेको जानकारी दिए । आफूहरुले मागे अनुसारको प्रतिवद्धता नआएकोले सहमति हुन नसकेको र सहकार्य गरेर जान सकिने अवस्था नआएको लालले बताए । बैठकमा वाम गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका नेताहरुले संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुने बताएका थिए । बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सहभागी थिए । राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृजेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए। बुधबार राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ ।