बूढीगण्डकी जलविद्युत् निर्माणका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन

  मनास्लु पोष्ट  602 पटक हेरिएको


काठमाडौं, बूढीगण्डकी जलविद्युत् आयोजना पूर्वाधार विकासका लागि पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन भएको छ। स्वदेशी लगानीमा बूढीगण्डकी आयोजनाको निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम पदार्थबाट १५ अर्ब रुपैयाँ संकलन गरिएको हो। नेपाल आयल निगमले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी पुससम्म इन्धनबाट सो रकम संकलन गरेको हो।

इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल,पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले अहिलेसम्म १५ अर्बभन्दा बढी रकम संकलन भएको निगमले जानकारी दिएको छ। बूढीगण्डकी जलविद्युत् आयोजनाको पुर्वाधार निर्माणका लागि आर्थिक वर्ष ०७३र ७४ को जेठदेखि भन्सार बिन्दुबाट प्रतिलिटर पाँच रूपैयाँका दरले रकम संकलन गरिँदै आएको थियो। सरकारले अघिल्लो वर्षको बजेटमार्फत घोषणा गरे अनुसार प्रत्येक महिना इन्धनबाट रकम संकलन गर्दै आएको छ। निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाको पूर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ संकलन गरिएको जानकारी दिए। प्रत्येक महिना ७० देखि ८० करोडको हाराहारीमा इन्धनबाट कर संकलन गर्ने गरेको उनको भनाइ छ।

निगमका अनुसार आर्थिक वर्ष ०७२/७३ मा १ अर्ब १६ करोड, ०७३/७४ मा ९ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको थियो। २०७४/७५ को पुस १५ सम्म ४ अर्ब ५३ करोड रुपैयाँ संकलन भएको छ। भन्सार बिन्दुमा संकलन गरिने सो रकम सरकारको खातामा जम्मा हुने गरेको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार