एजेन्सी, १२ माघ – दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।
सिओलको दक्षिणी क्षेत्र मिर्याङमा रहेको सेजोङ अस्पतालमा आज बिहानै आगलागी भएको र आगलागीका कारण कम्तिमा ३१ जनाको मृत्यु भएको योनहाफ समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् ।
सेजोङ अस्पतालको आकस्मिक कक्षबाट आगलागी सुरु भएको हो । विशेष गरी जेष्ठनागरिकको उपचार गर्ने अस्पताल भएकाले मृतक अधिकांश जेष्ठ नागरिक नै हुन सक्ने अनुमान छ । आगलागी भएका बेला अस्पताल र नजिकै रहेको नर्सिङहोममा एक सय भन्दा बढी बिरामी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागीका कारण ४० जना घाइते भएको र उनीहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले बताएका छन् । आगलागीको कारण थाहा भएको छैन ।