निर्वाचन आयोगद्वारा राजनीतिक दलहरुलाई आय व्ययको विवरण बुझाउन आग्रह

  मनास्लु पोष्ट  644 पटक हेरिएको

काठमाडौं, १५ माघ – निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आय–व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन आग्रह गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था भएअनुसार गर्न आयोगले सम्पूर्ण दलहरुलाई आग्रह गरेको हो । आयोगले आज सूचना जारी गरी आयोगसमक्ष लेखा परीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्न समेत सम्बन्धित सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ ।

प्रदेश सभा सदस्य निर्वाचनमा दलले प्रतिउम्मेदवार एक लाख ५० हजारका दरले खर्च गर्न सक्ने रकमको सीमा हद तोकेको थियो । निर्वाचनको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन घोषणा भएको ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालयसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रदेश सभा सदस्यको समानुपातिक तर्फको गत मंसिर १० र २१ गते निर्वाचन भई माघ ३ गते नतिजा सार्वजनिक भइसकेको स्मरण गराउँदै खर्चको विवरण बुझाउन आयोगले सूचना जारी गरेको हो । यस्तै, आयोगले प्रदेश सभा निर्वाचनमा उम्मेदवार र दलले गरेको खर्च विवरण पेश गर्न पनि आग्रह गरेको छ ।

प्रदेश सभातर्फ समानुपातिकको मतपरिणाम समेत आईसकेको अवस्थामा अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्न आयोगले सम्पूर्ण राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार