काठमाडौं, १६ माघ – आज माघ १६ गते शहीद दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापना तथा पुनस्र्थापना र विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज पनि शहीद दिवस मनाइँदै छ ।
शहीदको सम्झनामा गएको १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम भइरहेको छ । शहीद दिवसका अवसरमा रत्नपार्क, शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि गरी शहीदप्रति श्रद्धाञ्जलि दिईंदै छ । त्यस्तै दिउँसो प्रथम शहीद लखन थापा मगरदेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम हुँदैछ ।
सरकारले हरेक वर्ष शहीदको सम्झनामा कार्यक्रम गर्दै आए पनि शहीदको सपना अझै पूरा हुन नसकेको गुनासो बढिरहेको छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुमा रहेको पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
राष्ट्रपति प्रधानमन्त्रीदेखि शीर्ष नेताद्धारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
‘शहीद दिवस २०७४’का अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफलस्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको बताउँदै वीर, अमर, त्यागी र भविष्यद्रष्टा शहीदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने शहीदको योगदानको उच्च मूल्यांकन हुने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अबसरमा शुभकामना दिदै राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ ।