नारायणगढ–मुग्लिन सडकखण्डमा भेटिएको जोखिमयुक्त चट्टानका कारण यातायात ठप्प

  कल्पना थापा  672 पटक हेरिएको

चितवन,चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत घुमाउनेमा भित्तो काट्ने क्रममा भेटिएको जोखिमयुक्त चट्टानका कारण अहिले सवारी आवागमन रोकिएको छ।

बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर भित्तो काट्ने काम सुरु गरिए पनि जोखिमयुक्त चट्टान भेटिएकाले ४ बजेपछि खुल्नुपर्ने सडक चट्टानका कारण मंगलबार साँझ ६ बजेसम्म संचालनमा आउन सकेको छैन।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार मंगलबार ४ बजेबाट सवारी खुल्नुपर्नेमा चट्टानका कारण जोखिम भएकाले फोरेर हटाउन समय लागेकाले गाडी नखुलेको हो। ‘भित्तोबाट जोखिमयुक्त ठूलो ढुंगा झारेर पौने ३ बजेबाट फोर्ने काम भइरहेको छ’, नारायणगढ–मुग्लिक सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘ढुंगो हटाएपछि सवारी चल्छ।’ प्रहरीका अनुसार चट्टान पन्छाउन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रु र यातायातकर्मीहरूलाई आग्रह गरिएको छ ।

चितवनबाट जाने तयारीमा रहेका सवारीहरू र काठमाडौंबाट पोखरा आउने सवारीहरूको समेत उक्त सडकमा ठूलो लाइन छ । राती बन्द गरेर काम हुँदै आएको उक्त सडकमा यही माघ १३ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म ६ घण्टा रोकेर भित्तो काट्ने काम सुरु गरिएको थियो। गएको दुई वर्षदेखि उक्त सडकको ३४ किलोमिटर क्षेत्र चौडा पार्ने काम जारी छ । सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ। हालसम्म उक्त सडकखण्डको ७२।४ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनियर खनालले बताए । सडक संचालन गर्न ढिला भएकाले आजको सवारीले रातभर नै उक्त सडक प्रभावित हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार