निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश

  मनास्लु पोष्ट  594 पटक हेरिएको


काठमाण्डौँ,२८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले आज राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनु भयो । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम विहिबार सार्वजनिक गरिएको थियो । सोही विवरण आयोगले ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । संविधान र कानुनको परिधि भित्र रहेर ढिला नगरी राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश गरिएको पनि निर्वाचन आयोगका प्रवक्ता ढकालले स्पष्ट पार्नु भयो ।

सो निर्वाचनमा एमाले २७ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको छ । त्यसैगरी नेपाली काँग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन । ५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले ढिलोमा फागुन ५ गते भित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपति समक्ष पेश गर्ने तयारी गरेको छ । आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गर्ने वित्तिकै नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार