काठमाडौं, १ फागुन – आज महाशिवरात्रि पर्व, आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाउने गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना प्रचलन गरहेको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण प्रचलन रहेको छ ।
यसैबीच, पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि हजारौंको संख्यामा दर्शानर्थीहरु पशुपतिनाथ मन्दिरमा लाइनमा बसेका छन् । बिहान ३ बजेदेखि नै मन्दिरको चार वटै ढोका खोलिएको छ । श्रद्धालुलाई दर्शनको उचित व्यवस्थापन मिलाउन ठूलो संख्यामा स्वंयसेवक तथा सुरक्षाकर्मी परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषाका सदस्य सचिव डा। प्रदिप ढकालले जानकारी दिनुभयो ।
यसवर्ष १२ लाखसम्म दर्शनार्थी आउने अनुमान गरिएको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथको दर्शन गर्ने दर्शनार्थीको भीडले पाशुपत क्षेत्र परिसर खचाखच भरिएको छ । महादेवको दर्शन गर्न बिहानैदेखि पशुपतिलगायत देशभरका विभिन्न शिवालयहरुमा भञ्लजनहरुको घुइँचो लागेको छ ।
शुभकामना
महाशिवरात्रिको अवसरमा राष्ट्रपति, उपराष्ट्रिपति, प्रधानमन्त्रीलगायत दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गनुभएको छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ । उहाँले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गर्नुभएको छ ।