काठमाडौं, एमालेसँग सबै विषयमा सहमति नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणको दिन माओवादी मन्त्रीहरूले शपथ लिन नसकेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
माओवादी भ्रातृ संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले माओवादी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नगएपछि उठेका आशंकाहरूप्रति लक्षित गर्दै सरकार र पार्टी एकतालगायतका विषयमा प्याकेजमा सहमति नभएकाले सरकारमा नगएको बताए ।
सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ प्रचण्डले भने, तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौँ । अहिले सकारात्मक छलफल सुरु भएको छ । पार्टी एकताबारे अधिकांश विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा मिलिसकेको केही कुरा मात्रै मिल्न बाँकी रहेको प्रचण्डको भनाइ थियो ।
वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै प्रचण्डले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, विभिन्न समयमा भाषणमा शिक्षा क्षेत्रको कुरा निकै उठ्यो । तर, अहिलेसम्म यो क्षेत्र उपेक्षित नै छ । २० प्रतिशत बजेट अझै पुर्याउन सकिएको छैन । उनले विगतका सरकारले शिक्षक र शिक्षा क्षेत्रमा गर्न नसकेका काम अबको सरकारले गर्ने बताए । उनले शिक्षामा अनुसन्धानका कार्यक्रमका लागि बजेट छुट्याउने पनि बताए। प्रचण्डले भने, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ ।’