प्रधानमन्त्री ओली र ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने विप्लवको चेतावनी

जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ

  मनास्लु पोष्ट  1032 पटक हेरिएको

                              नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ। ‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ। सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ।’ भोजपुर जिल्ला अदालतले पुस ९ गते गिरफ्तार गर्न दिएको आदेश अनुसार प्रहरीले पार्टी महासचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति विज्ञप्तिमा कडा शब्दमा निन्दा गरिएको छ।

पक्राउ पुर्जी विप्लवका दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको र हाजिर नभए अंश रोक्का र कब्जा गरिने चेतावनी दिइएको भन्दै विज्ञप्तिमा चर्को आक्रोश व्यक्त गरिएको छ। प्रहरी प्रशासनले विस्फोटक पदार्थको मुद्दाको नाममा पक्राउ पुर्जी टाँस्ने हर्कत गरेको भन्दै विप्लवको पार्टीले त्यसको निन्दा गरेको छ। प्रकाण्डले सार्वजनिक गरेको विज्ञप्तिमा यो सबै झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनीतिक चरित्र हत्या गर्ने प्रपञ्च भएको उल्लेख छ। यस्तो प्रक्रियालाई तत्काल रोक्न अदालत, प्रहरी प्रशासन र सरकारलाई कडा चेतावनी समेत दिइएको छ।

‘आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनीतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पुर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो झुट, निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार