हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ होली मनाइँदै

इच्छाविपरीत रंग दल्नेलाई कारबाही

  Manaslu Post  1337 पटक हेरिएको

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पव फागु अर्थात् होली आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो ।फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।

आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ । यसैबिच फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
हरसिद्धि नाच आज बिहानैदेखि प्रदर्शन गरिँदै
धेरै समयअघिदेखि चल्दै आएको हरसिद्धि नाच ललितपुर महानगरपालिका–१८ स्थित हरसिद्धि भवानी त्रिशक्ति देवी मन्दिर प्राङ्गणमा आज बिहानैदेखि प्रदर्शन गरिँदैछ । यो नाच वर्षमा दुईपटक बिहान ४ बजेदेखि राति ९ बजेसम्म देखाउने गरिएको छ ।

यो नाच वर्षमा दुई पटक मंसिर शुक्ल पूर्णिमा र फागुन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ । नेपाल संवत् २६३ मा राजा वरदेवले हरसिद्धिको नाच देखाई दोस्रो पटक यहाँ आउँदा शंकराचार्यलाई सन्तुष्ट बनाई पठाएको इतिहास भाषा, देवमाला र गोपालवंशावलीमा उल्लेख छ । पहिले मंसिर पूर्णिमादेखि फागुन पूर्णिमासम्म यो नाच देखाउने गरिएकामा हेर्ने मानिसको अभावमा दुवै पूर्णिमाका दिन मात्र देखाउने परम्परा चलेको हो ।नाच सम्पन्न भएपछि राति पञ्चबलि समेत दिने गरिएको छ ।

राष्ट्रपतिबाट होलीको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा होली पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै उहाँले यस महान् पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसै अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति नन्दबहादुर पुनले वसन्त ऋतुको आगमनसँगै आउने यस पर्वले नेपाली समाजलाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि गर्दै राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एक शुभकामना सन्देश दिँदै होली पर्वले नेपालीबीच सद्भाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

होलीमा इच्छाविपरीत रंग दल्नेलाई कारबाही

गृह मन्त्रालयले होलीमा इच्छाविपरीत रंग दल्ने, प्लास्टिकका लोला प्रयोग गरी वातावरण प्रदूषित पार्ने, फोहोर पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ ।

गृह मन्त्रालयले धार्मिक र सांस्कृतिक मान्यताविपरीत उच्छृंखल एवं छाडा र गैरकानुनी गतिविधि गर्नेलाई पनि कानुनी ल्याई लाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार