संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
सोमबारको पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेपछि दोस्रो बैठक मंगलबारका लागि बोलाइएको हो। बैठकले प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।
उनले भने, ‘मंगलबारको कार्यसूचीमा दुवै सदनले बैठकको अध्यक्षता गर्ने र सञ्चालन गर्ने मुख्य व्यक्तिको निर्वाचनको मिति तय गर्नेछ। सभामुखको निर्वाचनका लागि फागुन २६ को मिति तय गर्ने विषयमा राजनीतिक सहमति जुटिसकेको छ भने राष्ट्रियसभाको अध्यक्ष निर्वाचनका लागि फागुन ३० को मिति तोक्ने विषयमा सहमति जुटेको छ । मंगलबार हुने बैठकको पहिलो कार्यसूचीमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति तय हुनेछ। दुवै सदनको दोस्रो कार्यसूचीमा सदनमा मान्यताप्राप्त दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय दलको मान्यताप्राप्त एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताले सदनलाई सम्बोधन गर्नेछन्। आफूहरूले राष्ट्रिय दलको मान्यता नपाए पनि सदनमा बोल्न पाउनुपर्ने भन्दै स्वतन्त्र सांसदका हैसियतमा रहेका नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले माग गरेका छन् । उनीहरूले सदनमा बोल्नका लागि समय माग गरेपछि बोल्न दिने परम्परा भएकाले उनीहरूले समेत बोल्ने कार्यसूची बन्न सक्ने संसद् सचिवालयले बताएको छ ।