महिला माथि हुने सबै खाले हिंसा रोकौं

कल्पना थापा

  Manaslu Post  2175 पटक हेरिएको

      कानुनले महिला र पुरुषलाई समान अधिकार दिएता पनि लैङ्गिक आधारमा महिलामाथि हिंसा भइरहेको छ । कानुनले महिला र पुरुषलाई दिएको समानतामा पुग्न सकेको छैन । महिलालाई कानुनले अधिकारको रुपमा समानता दिन खोजे पनि समताको वास्तविक मर्म बुझ्न नसकिरहेको अवस्था हाम्रो सामु विद्यमान छ ।
सदियौं देखि जन्मजात महिला जन्मिएपछि लिङ्गको आधारमा विभिन्न खाले हिंसा खेप्नु पर्ने बाध्यता छ । अर्कोतिर महिलाका लागि कानुन बनाइएको छ । मात्र देखाउनका लागि जुन कानुनले महिलाको कुनैपनि समस्यालाई समाधान गर्न नसकेको अवस्था हाम्रो सामु सर्वविदितै छ । राज्यले महिलाका लागि बनाइएका कानुन समतामूलक नहुदा कानुनमा समेत लैङ्गिक विभेद गरिएको छ । यो कानुनको ढाँचा र संरचना कोर्ने पुरुषवादी चिन्तनको विचार हो ।
पितृसत्तात्मक सोँचले ग्रसीत हाम्रो समाजमा महिला भएकै कारणले विभिन्न खाले हिंसा खेप्नु परेको छ । जुन हिंसाका कारण महिलाहरु आत्महत्या समेत गर्न पछि परेका छैनन् । त्यति मात्र होइन समाजमा महिलाको अस्तित्व नै छैन भन्दा दुईमत नहोला । पितृसत्तात्मक समाजको सोँच महिलाप्रति कमजोर, असक्षम र कायरता भएको हुदा यस्ता खाले लैङ्गिक हिंसाको शिकार महिलाले खेप्नु पर्ने अवस्था विद्यमान छ । महिलाहरु लैङ्गिक आधारमा हुने हिंसामध्ये बढीजसो घरेलु हिंसाबाट पीडित छन् यो यर्थातपनि हो ।
नेपालमा महिला भएर जन्मनु भनेको लैङ्गिक आधारमा हिंसा खेप्नु हो । समयले फड्को मारिसक्दा पनि आजको वैज्ञानिक युगमा समेत महिला जति नै सक्षम भएतापनि यो समाजले महिलाको क्षमता र दक्षता होइन महिला भएकै कारण लैङ्गिक हिंसाको शिकार बनाइरहेका छन् । पितृसत्तात्मक सोँच बोकेको समाजमा महिलाले जति नै घर परिवार, समाज र राष्ट्रको लागि राम्रो काम गरे तापनि अन्तिममा कमजोर र अस्तित्वहीन महिलाको उपनाम दिने गरेको तितो यथार्थ स्वयम् म भोक्तभोगी छु ।
शहरी क्षेत्रका कतिपय शिक्षित महिलाहरुको हविगत अहिले पनि ज्यूँको त्यूँनै छ । उनीहरु अहिले पनि पुरुषवादी चिन्तन बोकेको समाजमा बाँच्न बाध्य छन् । उनीहरुमा पुरुष भन्दा माथि उठेर कार्य गर्ने क्षमता भएतापनि समाजको संरचना र पुरुषवादी संक्र्रीण सोँचले गर्दा अहिले पनि शिक्षित महिलाहरु लैङ्गिक हिंसाको चपेटामा पर्नु परेको छ । यति मात्र होइन आजको शिक्षित युगमा महिला पुरुषको दास हुनु कहाँसम्मको न्याय हो ? त्यसैगरी यही पुरुषवादी चिन्तनको हावीमा हुर्किएका नेपाली महिलाहरुको पहिचान, योग्यता, क्षमता, कार्यदक्षता हेर्ने हो भने पनि आजसम्म महिलाहरु कमजोर नै देखिएका छन् । अझ ग्रामीण भेगका हजारौं महिलाहरु जसलाई आफू को हो ? मेरो अधिकार के हो ? म स्वतन्त्र भएर यो देशमा बाँच्नको लागि राज्यले कस्तो खालको कानुन बनाएको छ ? मेरो लागि राजनीतिक, आर्थिक, नैतिक, सामाजिक, वैदेशिक कार्यमा लाग्न उचित छ या छैन ? म आफ्नो अधिकार प्राप्त गर्न र समाजमा महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्य गर्न मेरो भूमिका के हुन्छ ? भन्ने विषय लगायतमा थाहा नभएको अवस्था छ । यसरी ग्रामीण भेगका नेपाली महिलाहरु आफूमाथि लैङ्गिक हिंसा भएको समेत थाहा पाउन सकिराखेका छैनन् । यति थाहा पाए भने पनि समाज र पुरुषवादी चिन्तनको डरले आफू माथि भइरहेको हिंसालाई च्याप्न बाध्य छन् ।
प्रायः जसो पुरुषले विहे गरी महिलालाई लगेपछि शारीरिक, मानसिक हिंसा दिने घटना धेरै छन् । कतिपय ठाउँमा महिलाहरुको इज्जत लुटिएको छ चाहे त्यो महिला एउटा नाबालक बालिका किन नहुन् जसलाई विद्यालयमा पढाउने शिक्षकले समेत यौन दुव्र्यवहार गरेको घटना हाम्रो सामु छुप्न सक्दैन । त्यसो हुँदा महिलाहरु स्वतन्त्र भएर आफू खुशी बाँच्न पाउनु पर्ने अवस्था हाम्रो देशमा विकास हुन सकेको छैन । महिलालाई स्वतन्त्र भएर बाँच्न पाउने अधिकारको सिर्जना राज्यले समेत गर्न नसकेको अवस्था छ । अर्को कुरा राज्यको सोँच कहिल्यै पलाए नेपाली महिला स्वतन्त्र भएर यो समाजमा बाँच्न सकोस् ।
अब महिलाहरु जाग्नु पर्ने अवस्था आएको छ । सदियौं देखि हिंसा खेप्न बाध्य महिलाहरु अब आफू माथि हुने लैङ्गिक हिंसालाई अन्त्य गर्न एकजुट हुनपर्ने समय आएको छ । हामी महिलाले बुझ्न जरुरी छ लिङ्ग भनेको जन्मदासँगै लिएर आएको, पविर्तन गर्न नसकिने जैविक कुरा हो जो प्राकृतिक हुन्छ । अझ राम्रोसँग बुझ्नका लागि महिला र पुरुष पछिल्लो समययता तेस्रो लिङ्गी भनेर बुझ्नु आवश्यक छ । त्यसैगरी महिलाहरु लैङ्गिकता भनेको के हो भनेर बुझ्न झन् महत्वपूर्ण छ । १२ वर्षे सशस्त्र द्वन्द्वमा महिलाहरुले बन्दुक र भाला प्रयोग गरेर मैदानमा लड्न सफल भएका थिए पुरुषले गर्न नसक्ने कार्य गरेर महिलाले देखाएपछि नेपाली महिला आज विश्वमा चिनिन सफल भएको छ ।
आजको २१ औं शताब्दीको महिलाहरुले यो कुरा पनि बुझ्न आवश्यक छ लैङ्गिक हिंसा भनेको के हो किन महिला माथि लैङ्गिक हिंसा हुने गर्छ ? महिला भएकै आधारमा हुने गरेका शारीरिक, यौनजन्य, मानसिक तथा स्वतन्त्रता हनन् हुने कुनै पनि कार्यलाई लैङ्गिक आधारमा हुने महिलाविरुद्धको हिंसा हो भनेर बुझ्नु पर्छ र आफूमाथि हुने हिंसालाई अन्त्य गर्न महिला एकजुट हुनुपर्छ ।
अझ नेपाल सरकारले घरेलु हिंसा सम्बन्धी–कसुर र समाज) नेपालको संविधान २०७२ जारी गरी सक्दा पनि लैङ्गिक आधारमा हुने हिंसालाई अन्त्य गर्न खोजेपनि यो कानुनले महिलालाई समतामूलक न्याय दिन सकिराखेको छैन । महिलामाथि हुने विभिन्न खाले हिंसा जस्तै शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा, आर्थिक हिंसा, प्रथा÷परम्पराजनित हिंसालाई निर्मूल पार्न महिलाहरु अबको दिनमा सक्रिय भूमिका खेल्नु पर्छ ।
समग्रमा भन्नु पर्दा महिलाका लागि लैङ्गिक आधारमा राज्य गम्भीर नभएको होइन तर गम्भीरताभित्र पनि केही महिलाका लागि बनाइएको कानुनलाई समतामूलक न्यायपूर्ण बनाउन नसकेको मात्र हो । कुनै महिला हिंसामा परेर कानुनको कठघरामा पुग्दा आजका दिनसम्म महिलाले सजिलो ढंगले न्याय पाउन सकेको छैन । के त्यो महिलाका लागि बनाइएको कानुन साँच्चै नै समानता र समतामूलक छ ? त्यसतर्फ राज्यको ध्यानाकर्षण हुनु आवश्यक छ । अब पनि राज्यले यदि महिलालाई समानतापूर्ण न्याय दिने हो भने कुनै पनि प्रकारको विभेद नगरी समतामूलक कानुन बनाउनु पर्छ ताकि महिला हो भनेर महिलाको आँखामा छारो हाल्ने काम कदापि गर्नहुँदैन ।
यति मात्र होइन सदियौं देखि महिलालाई धार्मिक रुपमा गरिँदै आएको विभेदलाई समेत खारेज गर्न आश्यक छ । यदि समग्र राष्ट्रको विकास र उन्नति, प्रगति गरिने लैङ्गिक विभेदलाई अन्त्य गर्न जरुरी छ । त्यसको साथै स्वयम् महिलाहरु पनि आफूमाथि हुने सबैखलो हिंसालाई अन्त्य गर्न विभिन्न दवावमूलक कार्यक्रम गरी राज्यलाई घच्घच्याउनु पर्दछ । महिलाहरुको हक अधिकारलाई सुनिश्चित गर्न लिखित रुपमै राखिनुको साथै व्यवहारमा कार्यान्वयन गर्नु राज्यको दायित्व हो ।

लेखक– कल्पना थापा मगर संचारकर्मी हुनुहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार