पुर्णमाया पुलामी मगर
एतिहासिक कालदेखि मगरहरु अधिराज्यभरि जताततै छरिएर बसोबास गर्न पुगेका छन् । मगरहरुको आफ्नै भाषा, धर्म, भेषभूषा र विभिन्न किसिमका लोक सांस्कृतिक परम्पराहरु छन् । मगरहरुको धर्म तथा लोक सांस्कृतिक मौलिक परम्पराको विशेषता भनेको नै प्रकृति पूजा, जीवन पद्धति र पहिचानलाई मानिन्छ । नेपाल एकीकरणको शिलशिलामा युद्ध गर्दंै देशका विभिन्न स्थानमा पुगेका मगरहरु जहाँजहाँ पुगे, त्यही ठाउँमा बसोबास गरेका मगरहरु बिस्तारै आफ्नो भाषा, धर्म, भेषभूषा र सांस्कृतिक परम्पराहरुलाई बिर्सिएर एकल हिन्दु धर्ममा विलय हुन पुगेका हुन् भने सुगौली सन्धि पश्चात् कतिपय मगरहरु विदेशी भूमिमा समेत पलायन भएका थिए र छन् पनि । नेपालका आदिवासी जनजातिहरु मध्ये मगर जाति बढी मात्रामा हिन्दु धर्मबाट प्रभावित पनि छन् । यही कारणले गर्दा आज धेरैभन्दा धेरै मगरहरुले आफ्नो मातृभाषा, धर्म, भेषभूषा र सांस्कृतिक परम्पराहरु गुमाएका छन् बिर्सेका छन् भन्दा फरक नपर्ला ।
ऐतिहासिक कालदेखि मगरहरुमा प्रचलित धार्मिक तथा मौलिक लोक परम्परागत सांस्कृतिक धरोहरका रुपमा नाचिने नाच नाचन हो । जसलाई ठाउँ विशेष अनुसार नाचन, नचरी, सोरठी, मारुनी नाच पनि भनिन्छ । यो नाच विशेष गरी पाल्पा, गुल्मी, नवलपरासी, तनहु स्याङ्गजा, म्याग्दीका मगरहरुले भदौको श्रीकृष्ण जन्माष्ठमीबाट विधिवत् रुपमा सुरुवात गरी दशैं, तिहार, पूजाआजा, बिहे तथा शुभकार्यहरुमा नाच्ने गर्दछन् । मंसिर महिना वा पौष महिनाको पूर्णिमा सम्म नचाएर विधिवत रुपमा नै विसर्जन गरिन्छ । यस नाच हिन्दु धर्मग्रन्थ रामायणबाट राम चरित्र, महाभारतबाट श्रीकृष्ण चरित्रको कथांबाट नाच्ने परम्परा पाइन्छ भने ठाउँ विशेष अनुसार यस नाचको नाच्ने शैलीमा भने केही मात्रामा भिन्नता पाइन्छ । नाचन भन्दा सोरठीको कथावस्तुमा फरक पाइन्छ तापनि यी दुबै नाच एकै किसिमको नाच हो । आजसम्म यो नाच मगरहरुमा मौखिक रुपमा मात्रै जीवित रहेको भएपनि यो नाच अहिले लोप भेसकेको अवस्था छ । यस नाचन नाचमा हिन्दु धर्मका ग्रन्थ रामायण र महाभारतको राम र सीता तथा श्रीकृष्ण भगवानका चरित्रलाई लिइए पनि यसमा मगरहरुको आफ्नै किसिमको प्रकृति पूजा र परम्परागत संस्कृतिको मौलिकपन पाइन्छ । यो नाचन मगर जातिको परम्परागत रुपमा नाचिने नाच हो । नाचन परापूर्वकाल देखि नै मगर जातिमा एक पुस्ता देखि अर्को पुस्तामा मौखिक रुपमा मात्र हस्तान्तरण हुदै आएको यस नाचको लिखित रुपमा प्रमाण नपाइएता पनि नाचनलाई मगरहरुको आफ्नै मौलिक लोकपरम्परागत रुपमा नाचिने यस लोकनाचलाई सांस्कृतिक सम्पदाको जातीय गौरवको रुपमा लिईन्छ ।
यो नाचमा मगरहरु मात्र होइन मगर समाजमा बस्ने अन्य जातजातिहरु पनि सहभागी भएर नाच्ने गर्दछन् । नाचन नाचको नाच्ने तौरतरिका, मादलको ताल, गीतको लय तथा गाउँदा लिइने चरणहरु विशेष गरेर आफ्नै मौलिक लोकपरम्परा अनुसार रहेका छन् । यस नाचमा गोहियाहरु, मारुनीहरु, बिजवरे र मादलेहरु सबै पुरुषहरु मात्र रहने तर कतैकतै महिलाहरुको पनि सहभागिता हुन्छन् भने बिजवरेले राम तथा कृष्ण भगवानको चरित्रमा नाच्ने गर्दछ । तर मारुनीहरु गीतको कथा अनुसार सिता, राधा, रुक्मणी र गोल्यानीको भूमिकामा नाच्ने गर्दछन् । यो नाच हिन्दु धर्म ग्रन्थमा आधारित भएतापनि मगर जातिको आफ्नै मौलिक लोकपरम्परागत रुपमा पहिलो पटक नाचन सुरु गर्दा सम्पूर्ण नाचन्याहरुको सुरक्षाको लागि लामाले सम्पूर्ण नाच्ने समुह (नाचन्याहरु)लाई तन्त्रमन्त्रद्धारा मन्त्रिएर बटुवा बजाएर ठेगान राखेर गुरु –मिगुर) ले सम्पूर्ण भगवान्हरु र मायूहरुको नाम लिई बन्धन गीतबाट सुरुवात गर्दछ । नाचनमा बन्धन लिई सकेपछि चरण चरणमा नाच्दै बीच बीचमा टिपुवा, ख्याली नाच्दै अन्तिममा आशिष दिएर नाच विर्सजन गरिन्छ । यसरी नाचन नाच्दै गएपछि मंसिरे पूिर्णमा वा पौसको पूर्णिमा या पञ्चमी तिथि पारेर पूजा गर्ने थान स्थापना गरेर थान वरिपरि घुम्दै बन्धन फुकाउदै नाचन नाच नाचिन्छ । अन्त्यमा नाचनमा प्रयोग गरिएका सबै सरसामानहरु थानमा झुन्ड्याएर,विधि अनुसार चोखोनिस्तो भएर भगवानहरु र मायूहरुको नाममा मिगुर, मादलेहरु र विजबरेले कुखुराको भाले र एक जोर परेवा, मारुनीहरुले कुखुराको पोथी पूजा गरि अब अर्को वर्ष मात्र नाचन नाच्ने वाचाका साथ नाचको विर्सजन गरिन्छ । तर आज यो नाचन मात्र होइन मगरहरुको भाषा, घाटु कौरा र लोकसंस्कृति पूर्णरुपमा लोप भैसकेको अवस्थामा छ ।
अब मगरहरु एक भएर जातिय पहिचानसहित आफ्नो भाषा, धर्म तथा मौलिक लोकसांस्कृतिक सम्पदाको संरक्षण सम्वद्र्धन गरी उत्थान र विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । यसको संरक्षण सम्वद्र्धन गरी उत्थान र विकास गरेमा मगरको सांस्कृतिक सम्पदा जातीय गौरवको रुपमा स्थापित गर्न सकिन्छ । यसका लागि सम्पूर्ण मगरहरुमा जनचेतना अभिवृद्धि गरी यसको विकासको लागि विशेष पहलको खाँचो देखिएको छ । यसो गरेमा मगर जातिको पहिचानका साथसाथै मगरको जातिय मौलिक लोकसांस्कृतिकलाई राष्ट्रिय सभ्यता र संस्कृतिको गौरवको रुपमा पर्यटन उद्योगको विकासको साथै राष्टिझय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।