मनास्लु पोष्ट
चैत ८, काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । त्यसका लागि पर्यटन विभागले सरोकारवालासँग छलफल अघि बढाएको छ । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ ।
केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । जीपीएस ट्र्याकिङबारे म्यानुफ्याक्चरिङ कम्पनिसँग एक चरणमा छलफल भएको छ । सरोकारवालाहरुसँग पनि छलफल गरेर उपयुक्त भए आगामी सिजनदेखि लागू गर्ने तयारीमा भएको छ ।
यस्तो प्रविधि विकसित देशहरुले प्रयोग गर्दै आएका छन् । तर, नेपाल परीक्षणको तयारीमा रहेको छ । पर्यटन व्यवसायलाई विश्वव्यापीरुपमा एकरुपमा ल्याउन र ढाँट छललाई रोक्न पनि यसको आवश्यकता देखियो ।
जीपीएस ट्र्याकिङ सिस्टमको प्रयोग
जीपीएस ट्र्याकिङ सिस्टमको लागि एउटा मोबाइल आकारको डिभाइस हुन्छ जसलाई आरोही स्वयमले बोकेर लैजानुपर्छ । त्यसअघि सरकारको सरोकारवाला निकाय पर्यटन विभागले उक्त डिभाइसमा आरोहीको नाम, ठेगाना लगायतका सम्पूर्ण विवरण इन्ट्री गरेर आरोहीलाई दिन्छ । आरोहण सकिएपछि डिभाइसलाई आरोहीले सरकारको सम्बन्धित निकायमा फिर्ता गर्नुपर्छ जसलाई अर्को छुट्टै यन्त्रमार्फत रिड गरिन्छ । त्यसमा आरोहीले के गर्दैछ, कुन दिशाबाट आरोहण गरेको, कति उचाइमा पुगेकोलगायतका विस्तृत विवरण रेकर्ड भएको हुन्छ । त्यसको आधारमा आरोहण सफल भए नभएको पत्ता लगाउन सकिन्छ । यो यन्त्रलाई व्यक्तिले तलमाथि गर्न सक्दैन । स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना रहेकोछ ।
हिमाल आरोहणको क्रममा कुनै आरोही दुर्घटनामा परेको भए पनि यस यन्त्रमार्फत् पत्ता लगाउन सकिन्छ र उद्धारमा सहज हुनेछ । विदेशी पर्यटकहरु अधिकांश हिमाल आरोहणका लागि नेपाल आउने गर्दछन् । नेपालको कुल गाह्रस्थ उत्पादनमा पर्यटन क्षेत्रको चार प्रतिशत योगदान छ