विक्रम संवत्अनुसार २०७५ को पहिलो दिन अर्थात् वैशाख १ गते । अन्तर्राष्ट्रिय प्रयोजनका लागि इश्वी संवत् र जातजातिका संस्कृति मनाउन मौलिक संवत् चलाइए पनि नेपालको सरकारी पात्रो नै विक्रम संवतमा आधारित छ । विक्रम संवत् २०७४ वर्षअघि अर्थात् इश्वी संवत् सुरु हुनु भन्दा ५७ वर्षअगाडिदेखि चलेको सवत् हो ।
लिच्छवीकालीन राजा अंशुवर्माको शासनकालम विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य सञ्चालन गरेको केही विद्वानहरू बताउँछन् । उनले बज्रयोगिनीको उपासना गरी राज्यका नागरिकलाई अनिकालबाट जोगाएका र आफ्नो नाममा संवत् पनि चलाएका थिए । केही विद्वानहरूको भनाइमा इश्वी संवत् सुरु हुनु भन्दा ५७ वर्षअघि भारतका प्रतापी राजा विक्रमादित्यले यो संवत् चलाएका थिए ।
केही विद्वानको मतमा भने इशापूर्व ५७ वर्षअगाडि भारतमा विक्रमादित्य नामका राजा नै नभएकोले विक्रम संवत् नेपालीहरूको आफ्नै मौलिक संवत् हो । सूर्यका विभिन्न नाममध्ये विक्रम नामबाट यो संवत् चलेको तर्क गर्नेहरू पनि छन् । विक्रम संवत्अनुसार ६ ऋतुमा विभाजित वर्षलाई महिनाको ३०(कम्तीमा २९ देखि बढीमा ३२ सम्म) दिनको दरले ३ सय ६५ दिनको एक वर्ष मानिन्छ ।
पहिलो दिन शुभ भए वर्षभरि नै शुभ हुने विश्वासमा बिहान सबेरै उठी, स्नान गरी, जप–तर्पण आदि गर्ने, वर्षफल सुन्ने, धार्मिक अनुष्ठान लगाउने तथा तीर्थस्थलको भ्रमण गर्ने परम्परा बसेकाेछ ।
नयाँ वर्षको पहिलो दिन रमाइलोसँग मनाउनुपर्ने मान्यताअनुसार पिकनिक, नाचगानजस्ता मनोरञ्जनात्मक कार्य गर्ने पनि चलन रहेकाेछ ।