करबाकेली इको ट्रेक जंगल सफारीका लागि आर्कषक

  Manaslu Post  1207 पटक हेरिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ ।

स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा ट्रेकको प्रचारप्रसार शुरु गरिएको करबाकेली पर्यटन व्यावस्थापन समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।

 

“जंगल सफारीका लागि यो पदमार्ग आकर्षक छ, प्राकृतिक सुन्दरताको रस स्वादन गर्न पर्यटक यहाँ आउने छन्” पुनले भने ।

सरोकारावाला निकायसँग छलफलमा छौँ, अब व्यापक प्रचारप्रसारमा जुट्छौँ” पुनले बताए । पुनका अनुसार पाँचवटा मार्गको प्रयोग गर्ने गरी पदमार्ग तयार गरिएको छ । ४ नम्बर प्रदेशको राजधानी पोखराबाट विश्वकै पर्यटकीयस्थल घोरेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारसम्म पुग्ने गरी पदमार्गको प्रचारप्रसार गरिएको छ । विशेष गरी घोरेपानी, पुनहिलमा पुग्नलाई यस क्षेत्रमा ल्याउने स्थानीयको योजना छ ।

घोरेपानी, पुनहिलबाट सूर्योदयको अवलोकन गरेपछि देउराली हुदै जंगल सफारी गरी करबाकेली आउने गरी पूर्वाधारसहितको पदमार्गलाई व्यवस्थित बनाउन लागिएको अगुवा चामबहादुर पुनले बताए । सडकले पदमार्ग विस्थापित भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई यस पदमार्गमा आकर्षित गर्न सकिने प्रशस्तै आधार रहेको पुनले जानकारी दिए । पुनका अनुसार विश्वकै उत्कृष्ट गन्तव्य घोरेपानी, पुनहिल हुँदै घना जंगलबाट आउने पदमार्गलाई व्यवस्थित बनाइने योजना रहेको छ । घनाजंगलको बीचबाट विस्तार गरिएको पदमार्गमै पर्ने देउरालीमा सामुदायिक लजसमेत रहेको छ ।

गुराँसको सिजनमा आँखामै ठोकिने धौलागिरि, माछापुच्छे«लगायतका हिमालको दृष्यले समेत पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ । करबाकेलीबाट गुर्जा, चुरेन, धौलागिरि अन्नपूर्ण, माछापुच्छे«लगायत आधा दर्जन हिमालसहित प्राकृतिक दृष्य, पुन समुदायको भेषभूषामा सजिएका स्थानीय, जनजातिको कला र संस्कृतिलाई समेत अवलोकन गर्न पाइन्छ । शान्त, सुन्दर, सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त रहेको छ ।

समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित काफलडाँडामा स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको थानमा बहुमूल्य धातुका जलप लगाइएको पुन समुदायका कुलदेवता करबाकेलीबाबा, उनका दुई श्रीमती हिमला र फिमला, जेठा छोरा रामचन एवं कान्छा छोरा कुलचनका मूर्ति राखिएका छन् । पुन समु्दायले करीब रु एक करोडभन्दा बढी लगानी गरी थान सहितको भौतिक पूर्वाधार निर्माण गरेका छन् । स्थानीयले थानलाई राष्ट्रिय सम्पदाको रुपमा सूचीकृत गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार