मगर भाषाका शब्दकोश लेखक तथा मगर भाषा, साहित्य र इतिहासका अनुसन्धानकर्ता हिरासिंह सोमसेन थापा मगरको निधन भएको छ विगत लामो समयदेखि मस्तिष्कघातका कारण अस्पतालमा रहनुभएका उहाँको गए राति १२ः४५ मा ८२ बर्षको उमेरमा निधन भएको हो । नेपाल मगर संघको केन्द्रिय कार्यालय कलंकीमा आज उहाँको पार्थिक शरिरलाई अन्तिम श्रद्धाञ्जली दिएकाे छ । उहाँको पार्थिक शरिरको अन्त्येष्टी भने भोलि उहाँकै गृहजिल्ला नवलपरासीमा समाधीस्थल बनाई गरिने परिवार स्रोतले जनाएको छ ।
औपचारिक अध्ययन गर्ने अवसर नपाए पनि थापा मगरले आफ्नो जीवनका अधिकांश समय मगर भाषा इतिहासको अध्ययन अनुसन्धानमा लागेर मगर ढुट खस अङ्ग्रेजी बृहत शब्दकोश निर्माण जस्तो महत्वपुर्ण काम गरि मगर भाषा र साहित्यको विकासमा महत्वपुर्ण योगदान पु¥याउनु भएको छ । साथै विभिन्न पुस्तकहरु र मगर थ्रु दि एजेज लगायत थुप्रै भाषा सम्वन्धी कामहरु गर्नु भएको छ ।
साथै उहाँले मगर भाषाइतिहास सम्वन्धी विभिन्न कार्यक्रमहरुमा थुप्रै कार्यपत्रहरु समेत प्रस्तुत गर्नु भएको छ । थापा नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिको पुर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।
नेपाल मगर संघले उहाँको सम्मानमा आजै शोकसभा सम्पन्न गरेको छ ।थापाको पार्थिक शरिरमा नेपाल मगर संघको झण्डा ओढाएर सम्मान गरिएको थियो । शोक सभामा श्रद्धाञ्जली मन्तव्य राख्दै नेपाल मगर संघका संस्थापक महासचिव सुरेश आलेमगरले त्याग र निकै संघर्षशीलता सँगै भाषा र इतिहासमा अतुलनिय योगदान पु¥याउने थापाको निधनले मगर समुदायको लागि मात्र नभई सिंगो राष्ट्रको लागि क्षति पुगेको बताउनु भयो ।
नेपाल मगर संघका सल्लाहकार समेत रहनुभएका थापाको निधन पश्चात नेपाल मगर संघको आकस्मिक बैठक बसेर थापाको योगदानको सम्मानमा देश तथा विदेशका विभिन्न संघसंस्थाहरुले आफ्नो आफ्नो कार्यालयमा भोली शोक पुस्तिका राख्ने र आधा झण्डा समेत झुकाउने निर्णय गरेको कुरा संघका अध्यक्ष नविन रोका मगरले बताउनु भयो ।
थापाको निधन सँगै उहाँले लेख्न लाग्नु भएको मगर इतिहासको बृहत पुस्तक मगर थ्रु दि एजेज भने अधुरो नै रहेको छ ।