वैधिक विधिपूर्वक पूजा गरेर मनकामना मन्दिरमा गजुर राखियो

  कल्पना थापा  1785 पटक हेरिएको

काठमाडौं । वैधिक विधिपूर्वक पूजा गरेर  मनकामना मन्दिरमा गजुर राखिएको छ ।

भूकम्प अघि दक्षिण पश्चिममा करीब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप ढल्काएपछि २०७२ असारबाट पुनर्निर्माण भइरहेको छ । जगैदेखि भत्काएर पुनर्निर्माण भइरहेको मन्दिर पुरानै स्वरुपमा निर्माण हुन लागेको हो ।

पुनर्निर्माणको ९० प्रतिशत काम सकिएको जीर्णेद्वार समितिले जनाएको छ । माथिल्लो छानामा सुनको जलप लगाउने काम लगभग सकिएको र तल्लो छानाको काम शुरु गर्न लागिएको जीर्णेद्वार समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठले बताउनुभयो । अगामी असोज भित्र पुनर्निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो । मन्दिरको छानामा सुनको जलप लगाउन १५ किलो सुन खरिद गरिएको छ ।

मन्दिर जीर्णेद्वारका लागि भक्तजनबाटै करीब आठ करोड संकलन भएको छ । मन्दिर पुनर्निर्माण सक्न १३ करोड लाग्ने अनुमान गरिएको छ । हाल सम्म १० करोड खर्च भइसकेको उहाँले बताउनुभयो । पुनर्निर्माणका लागि नेपाल सरकारले पुरातत्व विभाग मार्फत चार करोड दिएको थियो ।

२०६८ सालमा लागत स्टमेट गर्दा करीब ८ करोडमा पुनर्निर्माण सक्ने लक्ष्य राखिए पनि सामानको भाउ बढ्दा र सुन खरिदमा धेरै रकम खर्च हुँदा अहिले लागत बढेको जीर्णेद्वार समितिले जनाएको छ । मन्दिर नजिकै भगवतिको प्रतिमा स्थापना गरेर दर्शन गर्न आउने भक्तजनका लागि अहिले पूजा गर्ने विशेष व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार