विश्वकप फुटबल प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई प्रधानमन्त्रीद्वारा विदाइ 

  मनास्लु पोष्ट  1129 पटक हेरिएको

काठमाडौं : रुसमा हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विदाइ गरेका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा एक कार्यक्रमबीच उनले खेलाडी विदाइ गरेका हुन्।  प्रधानमन्त्रीले फुटबलका महान खेलाडी पेलेबाट शिक्षा लिई खेलक्षेत्रमा अग्रसर हुन खेलाडीलाई आग्रह गरेका थिए । उनले नेपाली खेलाडीले पनि मेहनत गरे सफलता हासिल गर्न सकिने बताए। प्रधानमन्त्री ओलीले उक्त टोलीले मेहनतका साथ खेलेमा उपाधिसमेत जित्ने विश्वास व्यक्त गरेका थिए ।

खेल क्षेत्रको विकासको लागि विद्यालयस्तरदेखि नै बच्चाहरुलाई खेल क्षेत्रमा आर्कषित गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले भने- ‘इमान्दारिता र आत्मविश्वास सफलताको पहिलो आधार हो । तपाईँहरु इमान्दार भएर खेल्नुहोस्।’ प्रधानमन्त्रीले नेपाली टिमलाई जितको शुभकामनासमेत दिए । कार्यक्रममा नेपाली टिमलाई विश्वकपमा लैजान सक्रिय संस्था सेल्टर आश्रय नेपालसँगै विभिन्न प्रायोजकहरुको सहभागिता थियो ।

वेस्टार प्रपटिज,शंकर ग्रुप ,कोरिया साउथ इष्ट पावर कम्पनी, नेपाली वाटर एण्ड इनर्जी डेभलपलेम्ट कम्पनी, कोकाकोला, गोल्डस्टार स’ज,एनएमबी बैंक, सनराइज बैंक, नेपाल एसबीआइ बैंकले यो खेलमा सहयोग पुर्‍याएका छन् ।

रुसको राजधानी मस्कोमा वैशाख २७ गतेदेखि हुने अठार वर्षमुनि उमेर समूहको विश्वकपमा २२ देशबाट २४ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन् । जसमा छात्र र छात्रामा समान १२/१२ टोली छन् । नौ खेलाडीसहित १३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार