काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले समाजवादको कुरा गरेर मात्र विकास नहुने बताएका छन् । साथै उनले भौतिक र सामाजिक पूर्वाधार विकास गर्नु सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैकठमा प्रिबजेटमाथिको छलफलमा बोल्दै डा. भट्टराईले भने,’आगामी बजेटको प्राथमिकता र वित्तीय संरचनाको कुरा गर्दा समाजवादको ठूला कुरा गरेर हुँदैन, भौतिक र सामाजिक पूर्वाधार तयार गर्नुपर्छ ।’
देशको विकास र समृद्धिको सपना पूरा गर्न भौतिक र सामाजिक पूर्वाधार विकासको विषयलाई बजेटमा मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका छन् । पूर्वपश्चिम सडक, रेल मार्ग, जल मार्ग, हवाइ मार्ग लगायत कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गरे मात्र समृद्धिको लागि मार्ग प्रशस्त हुने उनको भनाई छ ।
सामाजिक पूर्वाधार विना औद्योगिक अर्थतन्त्र नबन्ने भन्दै उनले शिक्षामा क्रान्ति ल्याउनुपर्ने बताए ।
अहिलेको शिक्षा प्रणालीलाई परिर्वतन गरेर प्राविधिक बनाउनुपर्ने संयोजक भट्टराईले बताए । उनले कृषिको आधुनिकीकरणका लागि सिँचाइको उपयुक्त व्यवस्था गरी बैज्ञानिक बाली प्रणाली अपनाउनुपर्नेमा जोड दिए ।
पर्यटनलाई प्राथमिता दिदै रोजगारीको अवसर श्रृजनाको लागि तुलनात्मक लाभको क्षेत्र पहिचान गरी उद्योग विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
अनुत्पादक क्षेत्रको लगानी घटाउन सरकारलाई सुझाव दिदै उनले बैदेशिक लगानी भित्र्याउन लगानी बोर्डलाई सशक्त र कामकाजी बनाउनुपर्ने आवश्यकता औल्याए ।
उनले सबैलाई खुसी पार्ने प्रयत्न भन्दा पनि प्राथमिकताको निर्धारणमा ध्यान केन्द्रित गर्नुपर्ने पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
यस्तै भूमि व्यवस्थापनमा विशेष ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गर्दै संयोजक भट्टराईले सामान्य निरन्तरतामा मात्रै बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरे विकासको गति पहिल्याउन नसकिने बताए ।
उनले दुवै छिमेकी मुलुकसँग मित्रवत सम्बन्ध कायम राखेर लगानी भित्र्याउन सरकारलाई सुझाव दिए ।
भ्रष्टाचार निवारण गर्ने निकाय नै भ्रष्टाचारमा लागेको देखिएको उल्लेख गर्दे उनले भ्रष्टाचार निवारणमा आमुल परिर्वतन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरे ।