सोलुखुम्बु– चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) सम्पन्न गरेसँगै यस वर्षको सगरमाथा आरोहण सुरु भएको छ । आठजना शेर्पा आरोहीले सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो ।
विभिन्न आरोहण कम्पनीमा आबद्ध आठै जनाले चुचुरोमा पाइला टेक्दै सन् २०१८ को पहिलो आरोही दल समेत बनेका छन् । डोरी टाँग्दै चुचुरामा पाइला टेक्नेहरूमा पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पादेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेन्जिङग्याल्जेन शेर्पा र दाटुक भोटे रहेका छन् ।
सगरमाथा आधार शिविरमा रहेका सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार दिउँसो साढे ३ बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । यो सँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ । सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही छन्, सोमबार ५० भन्दा बढी नै आरोही चुचुरोमा पुग्ने अनुमान गरेका छौँ ।’ आजबाट आरोहीहरू धमाधम समिटमा जानेछन् ।
हरेक वर्षको चैतदेखि सुरु भई जेठ महिनासम्म सगरमाथा आरोहणको लागि उपयुक्त सिजन मानिन्छ । सगरमाथा चढ्नुभन्दा अगाडि आरोहीहरूले उचाई पचाउनका लागि साना हिमालहरु चढेर अभ्यास गर्ने गर्छन् । धेरैजसो आरोहीहरू आइल्यान्ड पिक चढ्ने गर्छन् । सगरमाथा अरोहणका लागि आरोहीले प्रमिशन शुल्कवापत ११ हजार अमेरिकी डलर अर्थात ११ लाखभन्दा बढी रुपैयाँ बुझाउनुपर्छ ।