बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु

  मन बहादुर पुन  791 पटक हेरिएको

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु भएको छ ।

सदरमुकाम बेनीबाट गुर्जा हुँदै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने छोटो र सजिलो पदमार्ग निर्माण भएपछि पर्यटक तथा पश्चिम म्याग्दीका दर्जनौँ गाउँका बासिन्दालाई सुविधा हुने भएको छ । धौलागिरि गाउँपालिकाले रु १५ लाख तथा स्थानीयवासीको रु एक लाख ५० हजार जनश्रमदानमा पहिलो चरणमा गुर्जादेखि रुघाचौरसम्मको पदमार्ग बनाइने गुर्जाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले जानकारी दिए ।

पदमार्गमा स्थानीयवासीले समेत श्रमदान गरेका छन् । एक वर्षभित्र ढोरपाटनसम्म पु¥याउनेछौँ”, छन्त्यालले भने । उनले बागलुङ, म्याग्दी र रुकुमसम्म फैलिएको आरक्षको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुर्जा र लुलाङको जलजला हुँदै म्याग्दी भित्र्याउनसमेत पदमार्गले सहज हुने बताए ।

ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणसँगै आवश्यक स्थानमा जानकारी दिने चिह्नसमेत राखिने छन्त्यालको भनाइ छ । पुरानो बाटोलाई मर्मत तथा फराकिलो बनाउन दैनिक ६० जना परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । १२ किलोमिटर पदमार्गमध्ये दुई किलोमिटर सम्पन्न भइसकेकाे छ।

आन्तरिक पर्यटकको समेत रोजाइमा रहेको ढोरपाटन हुदै गुर्जा आउने रुघाचौर पदमार्गबाट धौलागिरि, अन्नपूर्णसहित दर्जनाै हिमशंखलाको अवलोकन गर्न सकिन्छ । पदमार्गमा आउने पर्यटकलाई विश्राम गर्नका लागि रुघाचौरमा विश्रामस्थलसमेत बनाइने पदमार्ग निर्माण उपभोक्ता समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार