बर्डफ्लूका कारण ७० लाखभन्दा बढीको क्षती

  Manaslu Post  734 पटक हेरिएको

चितवन,जेठ । बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ । नष्ट गरिएकामध्ये भर्खर अण्डा दिन लागेका कुखुरालाई प्रति कुखुरा रु पाँच सय र अण्डा दिएर सक्ने बेला भएकालाई प्रति कुखुरा रु ३ सय लागत मूल्य सिफारिस गरिएको छ । बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अण्डा दिन शुरु गरेका लेयर्स कुखुराको लागत मूल्य रु ६०० पर्छ भने अण्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य रु ३५० पर्छ । दुवैखाले कुखुरा मारिएकाले सरदर रु ४७५ प्रतिलागत मूल्य पर्न जाने उनले बताए । साथै, रु ५६ लाख ७६ हजार मूल्यको ११ हजार ९५० लेयर्स कुखुरा नष्ट गरिएको समेत कँडेलले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार