काठमाडौं । एघारौैं अन्तर्राष्ट्रिय समगरमाथा दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाईमन्त्री बीना मगरले ओरोहीले मात्रै सगरमाथा आरोहणको पीडादायी अवस्था अनुभूति गर्ने भन्दै आरोहीका लागि राज्यले विशेष सम्मानको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
‘हामीले सगरमाथा चढेर आउने व्यक्तिलाई सम्मान गर्दछौं, कीर्तिमानी आरोहीलाई सम्मान गर्छौं’ सगरमाथा आरोहीसमेत रहेकी मगरले भनिन् ‘ तर त्योभित्रको कठिनाई, जटिलता र पलपलका अनुभूतिलाई बुझ्न सकेका हुदैनौं ।’
विभिन्न कीर्तिमान कायम गर्ने आरोहीहरु स्वदेशमा अवसर नपाएपछि विदेशीनुपर्ने बाध्यताको अन्त्य गर्न राज्यस्तरबाट पहल गरिनुपर्नेमा उनले जोड दिए । सगरमाथा आरोहण त्यति सहज नभएको बताउदै मन्त्री मगरले थपिन्, ‘वास्तवमा त्यहाँ थुप्रै कठिनाई छन् । अहिले पनि दुई जना शेर्पा र दुई जना विदेशी आरोहीलाई सगरमाथाले आफ्नो गोधुलीमा राखी सकेको छ । हरेक वर्ष सगरमाथामा केहीले ज्यान गुमाउछन् भने केहीले कीर्तिमानी बनाउँछन् । यो परिस्थितिलाई ध्यानमा राखेर राज्यले कार्यक्रमिक योजना निर्माण गर्नुपर्दछ ।’
कार्यक्रममा ख्यातिप्राप्त आरोहीहरुले राज्यले आरोहीहरुको उपेक्षा गरेको भन्दै आक्रोश व्यक्त गरे । कार्यक्रमको बक्ताको रुपमा रहेका आठ हजार मिटर भन्दा माथिका १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही मिंमा शेर्पा र २२ पटक सगरमाथा आरोहण गरेर अर्को विश्व कीर्तिमान बनाउन सफल कामी रिता शेर्पाले सगरमाथा चढेर मुलुकलाई संसारभर चिनाउने आरोहीहरुलाई राज्यले बेवास्ता गरेको गुनासो गरे ।
उनीहरुले हिमाल आरोहण गरेर देशलाई विश्वमा चिनाउने आरोहीहरु विदेशिनुपर्ने बाध्यता अहिले पनि यथावत रहेको उल्लेख गरे । ठूलो साहसका साथ सगरमाथा आरोहण गर्ने ख्यातिप्राप्त आरोहीहरुलाई खादा लगाएर सम्मान गरेरमात्रै उसको र उसको परिवारको भविष्यको सुनिश्चितता नहुने उल्लेख गर्दै त्यसका लागि राज्य गम्भिर हुनुपर्नेमा उनीहरुले जोड दिए ।
सो अवसरमा बसन्त ऋतुमा सगरमाथाको सफल आरोहण गरी विभिन्न कीर्तिमान कायम गर्न सफल आरोहीहरु कामी रिता शेर्पा, लाक्पा शेर्पालगायतलाई नेपाल सरकारले सम्मान गरेको छ ।