काठमाडाै । नेपालको सबैभन्दा ठूलो तालमात्र नभएर विश्वमा एक मात्र स्थान हो स्नो टाउट प्रजातिको माछा पाइने स्थल रारा ।
सबै नेपाली पुग्न चाहने स्थलमध्ये एक हो । वरिपरि जंगलको बीचमा समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालमा विश्वमै कहिं पनि नभेटिने स्नो टाउट प्रजातिको माछा पाइन्छ ।
रारा तालको पूरा आकृति हेर्नका लागि समुन्द्री सतहबाट करीब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो रङ्ग दिने गर्दछ ।
नेपालको सबैभन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ । रारामा पुग्नका लागि ताल्चा विमान स्थलमा नियमित उडान हुने हो भने हवाई मार्ग भएर आउने पर्यटकको पनि बृद्धि हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।
कसरी पुग्ने रारा
नेपालगञ्जदेखि ५० मिनेटको हवाई यात्रापश्चात् पुग्न सकिन्छ मुगुको ताल्चा विमानस्थल । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल दुरीपश्चात् रारा ताल पुग्न सकिन्छ । सुर्खेतदेखि दुई दिनको बस यात्रापश्चात् पुग्न सकिन्छ मुगुको गमगढी । गमगढीबाट तीन घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ राराताल ।