ओझेलमा पर्यटकिय स्थल सुनछहरी झरना

  मन बहादुर पुन  1012 पटक हेरिएको

प्राकृतिक पर्यटन गर्नका लागि निकै उत्तम मानिने सुनछहरी झरना अझै ओझेलमा परेको छ । रोल्पाको स्यूरी गाविसमा पर्ने झरना १ सय २५ मिटर बढी अग्लो छ ।

राप्तीकै सबैभन्दा अग्लो झरनाको रुपमा चिनिने सुनछहरी निकै मनमोहक छ, पर्या–पर्यटन गर्न चाहने पर्यटकका लागि सुनछहरी झरना उचित गन्तव्य हो । पर्यटकीय नगर सुलिचौरदेखि १८ किलोमिटर कच्ची सडक पार गरे सुनछहरीलाई अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय गन्तव्यहरुमा रोल्पाकाे उत्कृष्ट आकर्षणको केन्द्र सुनछहरीको प्रवद्र्धनात्मक काम भने हुन सकेका छैनन् । रोल्पाको सांस्कृतिक तथा युद्ध पर्यटन गर्ने चाहने पर्यटकले गुरिल्ला रुटको यात्रा तय गर्दा पनि अवलोकन गर्न सक्छन् सुनछहरीलाई । प्राकृतिक तथा धार्मिक विश्वासका आधारमा पनि सुनछहरी निकै महत्वको झरना हो ।

झरना खस्ने स्थानमा सुनको खानी रहेको दावी गरिएको छ । जहाँबाट चोइटिएर लुंग्रीमा सुन पाइएको स्थानीयहरु बताँउछन् । कन्चन जल अनि कडा चट्टानमा ठोक्किदै सुनछहरी लुंग्री अथवा सुर्वणवति नदीमा खस्ने गर्दछ ।दाङको भालुबाङदेखि ७८ किलोमिटर सडक दुरी पार गरेपछि पर्यटकीय नगर सुलिचौर पुग्न सकिन्छ ।

सुलिचौरदेखि १८ किलोमिटर कच्ची सडकको यात्रापछि सुनछहरीको छङछङको दृश्य धितै मर्ने गरि अवलोकन गर्न सकिन्छ । यद्यपि सुनछहरीको पर्यटनका लागि खासै पहल नभए पनि पर्या–पर्यटनको लागि उचित गन्तव्य भएकोमा कुनै दुइमत छैन । १ सय २५ मिटर उचाइबाट झरना झर्नेको अन्तिम स्थानमा सुन भएको जनविश्वासका आधारमा यस झरनाको नाउँ सुनछहरी रहन गएको स्थानीय भनाइ रहेकाे छ ।

मगर संस्कृतिले सम्पन्न स्यूरीमा घरबास कार्यक्रम सञ्चालन गर्ने र सुनछहरीको पर्यटन महत्वलाई प्रवद्र्धन गर्न सके यस क्षेत्रको विकास हुने जानकारहरु बताउँछन् । पर्यटकीय हिसाबले मात्र सुनछहरी आकर्षण केन्द्र छैन, भौगर्भिक हिसाबले पनि सुनको खानी भएको अनुमान गरिएको छ । यद्यपि त्यहाँ सुनको खानीको रहेको ठोस अनुसन्धान बाहिर आइसकेको छैन । अनुसन्धानका लागि पहलहरु भइरहेका छन् ।

सुनछहरी झरनाको मुहान मानव बस्तीभन्दा टाढा रहेकोले पूर्णरुपमा कन्चन सफा र सौन्दर्य छ । आन्तरिक पर्यटकका लागि उचित गन्तव्य मानिने सुनछहरीको विदेशी पर्यटकले पनि अवलोकन गर्ने गर्दछन् । सुलिचौरदखि पोबाङ फुलिवन हुँदै थबाङ पुग्ने जो कोही पर्यटकको नजरमा सुनछहरी ठोक्किने गर्दछ । अपितु रोल्पा आगमन गर्ने पर्यटकको अध्यावधि गर्ने कुनै निकाय छैन । उता निजी क्षेत्र पनि अलमलको अवस्थामा छ भने सरकारी निकायहरुलाई पनि गाउँ पर्यटनको गतिलो आधार सुनछहरीको विकासका लागि चासो दिने फूर्सद मिलेको छैन ।

स्थानीय तहमा सुनछहरीको विकास तथा प्रवद्र्धन गर्न जिल्ला विकास समितिले केही कार्यक्रम निर्माण गरेको छ । यद्यपि स्थानीयमा जागरण हुन नसक्दा र अति विपन्न स्यूरी गाविसमा पर्ने हुँदा सुनछहरीको बजारीकरण हुन नसकेको हो ।

जिल्ला पर्यटन समन्वय समितिले जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्याकेज निर्माण गरेमा सुनछहरी लगायतका क्षेत्रको अवलोकन, अध्ययन र अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने पर्यटनसँग सरोकार राख्नेहरुको धारणा छ ।

रोल्पाको पर्यटन प्रवद्र्धन गर्न रुट निर्धारणका लागि टान नेपालले पहल थाले पनि अहिले सुस्ताएको नागरिक अगुवा अमृत जिसीले बताए । टानले सर्वे गर्दा सुनछहरी हुँदै बिबाङ दहसम्मको रुट बनाए पनि जिल्ला विकास समिति पर्यटन मन्त्रालयहरुले वास्ता गर्न छोडेपछि सुनछहरी ओझेलमा परेको जिसीको प्रतिक्रिया छ ।

अनुमानित अढाइ मिटर उचाइ भए पनि आधिकारिकता नआएको उनले बताए । जिसीले भने, ‘अनुसन्धान भएको छैन, बालुवा चाल्दा सुन भेटिने गरेको छ तर सरोकारवालालाई चासो कहिल्यै भएन ।’ उता जिविसले कार्यक्रम बनाए पनि बजेट अभावमा काम गर्न नसकिएको जिल्ला विकास समिति रोल्पाका पर्यटन फोकलपर्सन दीपेन्द्र डिसीले बताए । यद्यपि प्रयासहरु भइरहेका छन्, त्यसैमा पनि स्थानीयहरुको सक्रियता नहुनाले पनि दबाब पर्न नसकेकोले सुनछहरी ओझेलमै परेको डिसीले बताए ।

जिविसको तर्फबाट सुनछहरीको अध्ययनका लागि पर्यटन मन्त्रालयमा पठाइएको तर पहँुचको अभावमा खासै चासो नदेखाइएको डिसीको भनाई छ । जिविसले जिल्ला पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न अल्पकालीन तथा दीर्घकालीन योजना तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । दीगो पर्यटनलाई विकास गर्दै स्थानीयको सहभागितामा गाउँ पर्यटनलाई प्रवद्र्धन गर्ने भनिए पनि कार्यक्रमका लक्ष्यहरु पूरा गर्न नसकिएको जिविस रोल्पाले स्वीकार गरेको छ ।

पर्यटनको जिम्मा पाएको निकाय पर्यटन मन्त्रालयले सुनछहरीजस्ता पर्या–पर्यटनको सम्भावनाको संरक्षण र प्रवद्र्धन गर्न ध्यान दिन नसकेको पर्यटनसँग चासो राख्नेहरुको प्रतिक्रिया छ । जसका कारण सुनछहरीजस्ता महत्वका गन्तव्यहरु अझै ओझेलमा परेको उनीहरुको दावी रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार