रुस र साउदीको उदघाटन खेल, फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

  मनास्लु पोष्ट  991 पटक हेरिएको


काठमाडौँ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडिममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । २१ औं संस्करणको विश्वकप इतिहासकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता पनि हो ।

मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदै छ । मस्को र अन्य १० सहरमा विश्वकपका खेल हुनेछन् । मस्कोमा दुई रंगशाला लुजनिकी र स्पार्टक छन् भने अन्य १० सहरमा १–१ रंगशाला छन् । विश्वकप खेलिरहेका राष्ट्रको सूचीमा रुस र साउदी अरेबिया तल्लो वरीयतामा रहेकाले यसलाई विश्वकप उद्घाटन इतिहासकै कमजोर खेलका रूपमा हेरिएको छ ।

ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन प्रबल दाबेदारका रूपमा रहेका छन् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन् । आयोजक रुसलाई समूह चरण पार गर्नै निकै ठूलो चुनौती देखिएको छ ।

प्रतियोगिता आयोजनामा रुसले १२ देखि १४ अर्ब खर्च गर्ने जनाएको थियो । विश्वकपमा सहभागी हुने टिमले कम्तीमा ८० लाख डलर पाउने छन् । प्रि–क्वाटर फाइनल पुग्ने राष्ट्रले १ करोड २० लाख डलर, क्वाटर फाइनल पुग्नेले १ करोड ६० लाख डलर, चौथो हुनेले २ करोड २० लाख डलर, तेस्रो हुनेले २ करोड ४० लाख डलर, उपविजेताले २ करोड ८० लाख र विजेताले ३ करोड ८० लाख डलर पाउने छन् । यस पटकको विशेषता विश्वकपमा पहिलो पटक भारको प्रयोग गरिँदै छ । भार अर्थात् भिडियो असिस्टेन्ट रेफ्री । रेफ्रीसहित मैदानमा रहेका निर्णायहरूले नदेखेका कुरा रेफ्रीमार्फत भारको प्रयोग गरेर गलत र सही छुट्याइने छ ।

यसले विगतमा निम्त्याउने गरेको प्रमुख विवादलाई किनारा लगाउने अपेक्षा गरिएको छ । तर खेलको जुन लय र गति हुन्छ, त्यसलाई भारले बिथोल्छ भन्ने तर्क पनि आएका छन् ।

यो विश्वकपले १९८० को मस्को ओलम्पिकलाई पनि सम्झाएको छ । रुसले आयोजना गरेको उक्त ओलम्पिकमा ८० राष्ट्र मात्र सहभागी थिए । १९५६ यता त्यो सबैभन्दा कम राष्ट्र सहभागी ओलम्पिक थियो । यसको मुख्य कारण अमेरिका थियो । सोभियत युनियनले अफगानिस्तानमा गरिरहेको आक्रमणलाई लिएर अमेरिकाकै नेतृत्वमा ६६ राष्ट्रले मस्को ओलम्पिक खेलेका थिएनन् ।

साउदी अरबले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरबको राम्रो प्रदर्शन १९९४ मा थियो । त्यतिबेला साउदी अरब प्रिक्वाटर फाइनलसम्म पुगेको थियो । तर सन् १९९८ देखि साउदी अरबले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार