काठमाडाै । नेपाल मगर पर्यटन समाजले यही असार २४ गते देखि पर्यटन व्यवसायीहरूका लागि एक हप्ते आधारभूत व्यवसायिक तालिम सञ्चालन गर्ने भएको छ । त्यस्तै, सोही अवसरमा टेकिड्ड गाइड (पथप्रदर्शक)हरूका लागि फोटोग्राफी तालिम समेत गरिने भएको छ ।
काठमाडौंको ठमेलस्थित समाजका निवर्तमान सचिव राजन थापाको इम्याजिन वेब सोलुशनको कार्यालयमा सो तालिम सञ्चालन हुने जनाइएको छ ।
तालिममा आधारभूत व्यवसायिक विषयमा समाजका वरिष्ठ सल्लाहकार एवं ताहाचल क्याम्पसका पूर्व प्राध्यापक, वरिष्ठ पर्यटन व्यवसायी महेन्द्रध्वज रानामगर र फोटोग्राफीसम्बन्धी युवा फोटोग्राफर विश्वास पुनले प्रशिक्षण दिने समाजका महासचिव जीवन थापामगरले जानकारी दिएकाछन ।
तालिममा सहभागी हुनका लागि २ हजार ९ सय ९९ रुपैयाँ शुल्क लाग्ने समेत थापामगरले बताए । त्यस्तै, समाजले अर्को महिनामा टिकेटिङ सम्बन्धी तालिम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।