ओखलढुङ्गा : मुलखर्कबाट ओखलढुङ्गा तर्फ आउदै गरेको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु भएको छ ।
बुधवार विहान सुनकोसी गाउँपालिकाको मूलखर्क भन्ने स्थानवाट ओखलढुङ्गाको सदरमुकामका लागि छुटेको बा १५ च ८८४३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भिर रहेको छ ।
दुर्घटना भएको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए। घाईतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाईएको पनि जानकारी दिए । मृतक एकको घटनास्थलमा नै र एक जनाको उपचारका लागि ओखलढुङ्गा तर्फ ल्याईदै गर्दा बाटैमा मृत्यु भएको बताईएको छ । दुर्घटनामा परि घाईते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ । घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ ओखलढुङ्गा प्रहरी ईन्स्पेक्टरको नेतृत्वमा घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए ।
प्रहरी घटनास्थलमा पुगेपछि घटनाको बारेमा विस्तृत जानकारी आउने पनि प्रहरी प्रमुख शर्माले जानकारी दिए। जीपमा कती यात्रु थिए भनेर केही खुलेको छैन । जीप दुर्घटनामा परेपछि चालक भने सम्पर्क बिहिन रहेको बताईएको छ। जीप रोकेर बाकी यात्रु खाजा खान गएको बेलामा जीप आफै गुडेर दुर्घटनामा परेको बताईएको छ ।
जीप दुर्घटनामा परि मृत्यु भएका र घाईते भएका बाहेक अरु यात्रुहरु खाजा खान बाहिर निस्केको बताईएको छ । यद्धपी घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।