कृषि पर्यटनले पर्यटक लोभ्याउँदै रुपन्देही

MANASLU TV मा subscribers गर्नुहोला ।

  मनास्लु पोष्ट  974 पटक हेरिएको

बुटवल । रूपन्देहीमा फस्टाउँदो व्यावसायिक कृषिसँगै कृषि–पर्यटनको सम्भावना बढेको छ ।

विश्वकै ठूलो पक्षी अस्ट्रिचको व्यावसायिक पालन, देशकै ठूलो गाई फार्म तथा रिसर्च सेन्टर, व्यावसायिक माछापालन, मौरी, अर्गानिक तरकारी तथा च्याउको पकेट क्षेत्र विस्तारले कृषि–पर्यटनको सम्भावना बढ्दै गएको हो ।

तिलोत्तमा नगरपालिकाको गंगोलियामा रहेको अस्ट्रिच फार्ममा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट अस्ट्रिच नेपाल प्रालिले वार्षिक ५०/६० लाख रुपैयाँ आम्दानी गर्छ । लुम्बिनी आउने आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले अस्ट्रिच हेर्ने गरेका छन् । यहाँ १५/२० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन् ।

विश्वका सीमित देशमा अस्ट्रिच पालन हुने भएकाले बाह्य पर्यटकलाई यसले आकर्षित गरेको हो । दक्षिण कोरिया, मलेसिया, चीन, जापान, नेदरल्यान्ड, इजरायल, भारतका राजदूत, उच्चपदस्थ अधिकारी तथा अनुसन्धान टोलीले फर्मको अवलोकनपछि यसलाई नमुनाको रूपमा विकास गर्न सुझाव दिएको अस्ट्रिच नेपाल प्रालिका सञ्चालक सिपी शर्माले बताए ।

यो फार्ममा अहिले माउ चल्ला गरी ६ हजार अस्ट्रिच छन् । एउटा वयस्क अस्ट्रिचको तौल दुई सय किलोसम्म हुन्छ । अण्डा दुई किलो । प्वाँख र छालाबाट जुत्ता, ज्याकेट बनाउन प्रयोग हुन्छ । बोसो सौन्दर्य क्रिमको कच्चा पदार्थ हो । कोलेस्ट्रोल फ्री हुने अस्ट्रिचको मासु स्वाथ्यका लागि सबैभन्दा उत्तम मानिन्छ । फर्म परिसरमा अस्ट्रिच, लोकल कुखुरा, माछा तथा अर्गानिक परिकारको रेस्टुराँ सञ्चालन गरिएको छ । सञ्चालक शर्माले यसलाई अस्ट्रिच अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

रूपन्देहीको तिलोत्तमामा रहेको नेपालकै ठूलो गाई फार्म लुम्बिनी एग्रो प्रोडक्ट एन्ड रिर्सच सेन्टरमा दैनिक चार सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यसबाट मासिक १५/२० लाख रुपैयाँ आम्दानी हुन्छ । भुटानको कृषि मन्त्रालय अन्तर्गतको विशेषज्ञ टोली, विश्व बैंक, नेदरल्यान्ड, फ्रान्स, जर्मन जस्ता देशका युनिभर्सिटीबाट अध्ययन अनुसन्धानका लागि टोली आएको रिसर्च सेन्टरका सञ्चालक शशी पौडेलले बताए । लुम्बिनी आइपुग्ने विभिन्न देशका राजदूत तथा उच्चपदस्थ अधिकारी र कूटनीतिज्ञ यहाँ आउन छुटाउँदैनन् । विभिन्न जिल्लाका अगुवा किसान, सहकारी सदस्यहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरू भ्रमणमा आउँछन् ।

अवलोकनका लागि प्रतिव्यक्ति ५० र प्रतिबस दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । फर्ममा होलिस्टिन, फ्रिजन र जर्सी जातका साढे चार सय गाई छन् । ती गाईबाट दैनिक दुई हजार लिटर दूध उत्पादन हुन्छ । मेसिनबाटै दूध दुहुने व्यवस्था छ । फार्मले आफ्ना लागि आवश्यक बायो ग्यास र ऊर्जा आफैं उत्पादन गर्छ । २२ बिघा जमिनमा उन्नत घाँस खेती गरिएको छ ।

पर्यटकका लागि अपार्टमेन्टसहितको होटल निर्माण गर्ने सपना कृषि उद्यमी पौडेलले देखेका छन् । ‘राज्यको नीति सहयोगी भए जर्सी र होलिस्टिन गाईको अनुसन्धान केन्द्रकै रूपमा विस्तार गर्ने लक्ष्य छ,’ पौडेलले भने । उनको योजना पूरा भए कृषि उद्यम फस्टाउन र दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नुका साथै कृषि पर्यटनलाई पनि बढावा दिनेछ ।

रूपन्देहीलाई चिनाउने अर्को कृषि–कर्म छपियाको माछापालन हो । यो गाउँमा पोखरी नभएका घर भेटिँदैनन् । गाउँलाई माछापालनले समृद्ध बनाएको छ । युवाहरू मत्स्य पर्यटन प्रवद्र्धनमा लागेका छन् । थारू समुदायको कला संस्कृतिसँग माछा गाउँलाई जोडेका छन् । माछा पोखरीमा डुंगा सयर गर्दै त्यहीका ताजा माछा खाने व्यवस्थासहितका होटल रेस्टुराँ खुलेका छन् । माछाले दिलाएको समृद्धि हेर्न र स्थानीय माछाको स्वादसँगै एकान्तमा हराउन गाउँ पुग्नेको संख्या उल्लेख्य छ ।

पछिल्लो समय माछा गाउँ पुग्ने बाह्य पर्यटक पनि बढ्दै गएको अगुवा किसान गोपाल पान्डेले बताए । विशेषगरी भारतीय र युरोपियन देशका पर्यटक गाउँको मनोरम दृष्यसँगै माछाको स्वादमा रमाउन पुगे पनि पर्यटक होटलको अभावमा बुटवल भैरहवा फर्कन बाध्य हुने अवस्था छ ।

पर्यटक तान्ने अर्को गाउँ हो, देवदहको शरहन टाँडी । अर्गानिक तरकारीको पकेट क्षेत्र । बुद्ध मावली देवदहको शिरको यो गाउँ तीनतिरबाट जंगलले घेरिएको छ । मगर समुदायको मौलिक संस्कृति, लोकल कुखुरा र अर्गानिक तरकारी यसको अर्को विशेषता हो । सहरको बढ्दो कोलाहल र प्रदूषणबाट टाढा हरियाली, शीतल वातावरणमा रमाउन नजिकको पर्यटकीय गन्तव्य हो ।

गाउँमा स्तरीय होटल तथा होमस्टे संचालन गर्न सके बाह्य पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य बन्ने नेपाल एसोसियसन अफ ट्राभल एजेन्सी नाटाका प्रदेश ५ का संयोजक बिष्णु शर्माले बताए ।

लुम्बिनी नजिकैको माछा गाउँ अस्ट्रिच पालन, लुम्बिनी एग्रो फर्म तथा रिसर्च सेन्टर, अर्गानिक गाउँ सरहन टाँडी, भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र आदिलाई समेटेर कृषि पर्यटनको योजना बनाउन सकिने जानकारहरू बताउँछन् । त्यसका लागि सडक, ऊर्जा, पर्यटकीय होटल तथा स्तरीय होमस्टे जस्ता संरचना निर्माणमा सरकार सहयोगी बन्नुपर्ने बताउँछन्, अस्ट्रिच विज्ञ सिपी शर्मा ।

बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकमध्ये २५ प्रतिशतलाई मात्रै कृषि क्षेत्रको भ्रमणमा ल्याउन सके ठूलो आर्थिक उपलब्धि हुने नाटाका प्रदेश ५ का अध्यक्ष शर्माले बताए । कृषि–पर्यटनको विकासले कृषि–कर्मलाई सम्मानजनक पेसाको रूपमा स्थापित गराउने ठहर छ, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. शिवलाल भुसालको।

अर्थशास्त्री भुसाल भन्छन्, ‘कृषिलाई पर्यटनसँग जोड्न सके कृषिप्रतिको नैराश्यतालाई चिर्न सकिन्छ । पर्यटकको बसाइ लम्बिन्छ । कृषि उपजको बजारीकरणमा टेवा पुग्छ।’प्रदेश सरकारले पनि समृद्धिको मुख्य आधार कृषि र पर्यटनलाई मानेको छ । तर, मुख्य पर्यटकीय गन्तव्य लुम्बिनी आउने बाह्य पर्यटकमध्ये ९० प्रतिशत त्यही दिन फर्कन्छन् । पर्यटन विकासको यो चुनौतीलाई चिर्न कृषि–पर्यटन फलदायी सावित हुने जानकार बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार