विनाशकारी भूकम्प गएको तीन वर्ष नाघिसक्दा पनि ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन सकेका छैनन् । सरकारी ढिलासुस्ती र प्रक्रियागत झन्झटका कारण ३ लाखभन्दा बढी भूकम्पपीडितले अझै ओत पाउन नसकेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या ५ लाख पुगेको भए पनि हालसम्म करिब २ लाख ३० हजार मात्रै घरको पुनर्निर्माण सम्पन्न भएको छ । निजी आवासका लागि ९ लाख ९६ हजार घरधुरीको सर्वेक्षण भएकोमा ८ लाख ७ हजार मानिस लाभग्राही सूचीमा परेका छन् । त्यसमध्ये अनुदान सम्झौता गरेका कुल ७ लाख २१ हजार ७४३ लाभग्राही छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २० असारसम्मको तथ्यांकअनुसार तीमध्ये २ लाख ३० हजारले मात्रै घर निर्माण सम्पन्न गरेका छन् । लाभग्राही सूचीमा परेका मध्ये १ लाखभन्दा बढीसँग अनुदान सम्झैता हुन बाँकी छ । झन्डै ३ लाख घर निर्माणाधीन छन् । करिब ३ लाखले घर निर्माण थालेकै छैनन् ।
निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र स्थानीय तहमा प्राविधिक जनशक्तिको उपलब्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४१९ घरको पुनर्निर्माण सुरु भएको छ । यसैगरी, नुवाकोटमा ६४ हजार १६१, धादिङमा ५९ हजार ३९८, गोरखामा ५२ हजार ४४८, दोलखामा ५२ हजार २३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८०२, रामेछापमा ३८ हजार ३४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।
अति प्रभावित जिल्लाका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ । कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरै ४ हजार ७४५ घरको पुनर्निर्माण सुरु भएको छ ।
त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि वृद्धि भएको छ । ४ लाख ३७ हजार लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि १ लाख ८९ हजार ८९ लाभग्राही छानिएका छन् ।
पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुनर्जाँच सर्वेक्षणबाट प्राप्त विश्लेषणबाट २० हजार ३१० पुनर्निर्माण लाभग्राही थपिएका छन् । यसैगरी, ११ हजार २९७ प्रबलीकरण लाभग्राही थपिएका छन् ।
प्राधिकरणको हालै बसेको कार्यकारी समिति बैठकले विभिन्न नौ जिल्लाका १७ वटा स्थानीय तहका ६ हजार २८२ पुनर्निर्माण लाभग्राही र २ हजार ८५७ जनालाई प्रबलीकरण लाभग्राहीमा थप गरेको थियो । विद्यमान व्यवस्थाअनुसार भूकम्पप्रभावित लाभग्राहीले पहिलो किस्ता बापत ५० हजार, दोस्रो किस्ता बापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ता बापत १ लाख रुपैयाँ पाउँछन् ।