प्युठान– मल्लरानी गाउँपालिका वडा नम्बर १ का कीर्तिमान विक मजदुरी गरेर गुजारा चलाउँछन्। ५४ वर्षका उनी गाउँभरिको आवश्यकता अनुसार डकर्मीको काम गर्छन्। आर्थिक अवस्था नाजुक भएका कीर्तिमानलाई छोराछोरीले समेत छोडेर हिँडे। हातमा भएको सीपले जसोतसो जिन्दगी चलाउँदैछन् उनी। उमेर नपुगी बुढ्यौलीमा पुगिसकेका उनलाई खुट्टाको घाउले हैरान बनाएको छ। पैसा नभएरै राम्रो उपचार गराउन नसकेको बताउने कीर्तिमान विगत पाँच वर्षदेखि घाउबाट रगत चुहाउँदै काम गर्न बाध्य छन्।
‘चार भाइ छोरा र चार बहिनी छोरी सबै लाखपाखा लागे। अब यो बुढेशकालमा तातो–चिसो सोध्ने बुढिया छे, ऊ पनि मेरै कमाइमा बाँचेकी छ,’ कीर्तिमानले आफ्नो दुखेसो सुनाए, ‘त्यत्रा छोराछोरी भएर पनि के केही नहुँदो रहेछ। दुई–चार पटक उपचार गराइदेओ भने, सुनेनन्। उनीहरुको पनि दुःखै होला, अब त छोराछोरीको आशै मरिसक्यो।’
‘५–६ वर्ष पहिले दायाँ खुट्टाको कुरकुच्चामा काँडा बिझेको थियो,’ कीर्तिमानले घाउको कहानी सुनाए, ‘सामान्य काँडा बिझेको त हो नि भनेर वास्ता गरिनँ। काँडा पनि निकालेकै थिएँ। तर खिल पल्टिएछ। एक महिनापछि आँखो निक्लियो, त्यही फैलँदै गयो अनि ठूलो घाउ बन्यो।’
अर्घाखाँचीको सन्धीखर्क गएका बेला उपचार गराएका थिए कीर्तिमानले, त्यो पनि पाँच वर्षअघि नै। भने, ‘केही औषधि डाक्टरले दिनुभयो। अरु औषधि किनेर खान भन्नुभएको थियो। त्यो बेला पैसै भएन। घाउ त्यतिकै बिग्रिँदै गयो।’
गाउँघरमा कहिलेकाहीँ मात्र काम पाइने र पर्याप्त कमाइ नहुने भएकाले थप उपचार गराउन नसकेको उनले बताए। अलिअलि पैसा जम्मा गरेर उपचार गराउन दाङ गएको तर त्यहाँबाट चिवतनस्थित क्यान्सर अस्पताल जान डाक्टरहरुले सल्लाह दिएको उनले सुनाए। आर्थिक अभावकै कारण थप उपचार गराउन चितवन जान नसकेको उनको भनाइ छ।
उनको खुट्टाबाट रगत बगिरहन्छ। कपडाको टालोले घाउ बाँधेर उनी काम गर्न हिँड्छन्। घाउबाट बगेको पिप र रगतका कारण वरिपरि झिँगा घुमिरहेका हुन्छन् भने घाउ गन्हाएर उस्तै हुन्छ।
कीर्तिमानकी श्रीमती क्वारी विकले आँसु झार्दै भनिन्, ‘चितवन लगेर देखाउन पाए हुन्थ्यो। क्यान्सर भइसक्यो तेरो लोग्नेलाई भन्छन् गाउँघरका मान्छे। घाउ दुख्यो भनेर हैरान लगाउँछन् बुढाले। घाउले घरै गन्हाउँछ, माखा लागेर उस्तै।’
घाउ निकै दुखेको बेला नदुख्ने औषधि किनेर खान्छन् उनी। ‘राति नदुखोस् भनेर रक्सी घुट्क्याएर सुत्छु,’ उनले आफ्नो रक्सी खाने तल लुकाएनन्। भने, ‘अब मर्ने कुरादेखि डर लाग्न छाड्यो। गरिब छु, कमाउछु खान्छु। उपचार गर्न भनेर कसैले ऋण पत्याउँदैनन्। मजदुरी गरेर कमाको पैसा खानै ठिक्क छ।’