१ मार्च, क्यानवेरा । अष्ट्रेलिया सरकारले ‘अनिश्चितताको समयमा’ देशको वैदेशिक नीतिलाई नविकरण गर्न दुईदिने सम्मेलनका लागि आफ्ना सबै विदेशी राजदूतहरुलाई क्यानबेरा फिर्ता बोलाउने घोषणा गरेको छ । सम्मेलनलाई ‘ग्लोबल हेड्स अफ मिसन मिटिङ’ नाम दिइएको छ ।
विदेशमन्त्री जुली विसोपले यसै वर्षको उत्तरार्द्धमा जारी हुने वैदेशिक नीतिसम्वन्धी श्वेतपत्र निर्माणमा सरकारलाई सहयोग गर्न अष्ट्रेलियाका सबै राजदूत, उच्च आयुक्त र महावाणिज्य दूतलगायत १ सय १३ वैदेशिक कुटनीतिज्ञहरु क्यानबेरा आउने जानकारी दिइन् ।
विसोपका अनुसार हाल मौलाएको संरक्षणवादको प्रवृत्तिका साथै आतंकवादको परिवर्तनशील अनुहारले सरकारलाई वैदेशिक नीति पुनरावलोकन गर्न घच्घच्याएको हो ।
‘उल्लेख्य विश्वव्यापी अनिश्चितताको समयमा अष्ट्रेलियाले आफ्ना वरिष्ठ कुटनीतिज्ञहरुको अनुभव र बौद्धिकताबाट लाभ लिनु वाञ्छनीय छ,’ फेयरफ्याक्स मिडियासँग बुधबार विसोपले भनिन् । यो सम्मेलनले विश्वमा अष्ट्रेलियाका प्रभाव र अडानलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
सबै दूतहरुले अष्ट्रेलियाको भावी वैदेशिक नीतिका लागि योजना तर्जुमा गर्न दुई दिनको अवधिमा विदेशमन्त्री विसोप, प्रधानमन्त्री माल्कोम टर्नबुल र व्यापार तथा लगानीमन्त्री स्टिभ किओबोसँग भेट्ने कार्यक्रम छ । दुईदिने सम्मेलनका लागि ११ लाख अष्ट्रेलियन डलर (आठ लाख ४० हजार अमेरिकी डलर) खर्च हुने अनुमान गरिएको छ तर यो वार्षिकरुपमा वा नियमितरुपमा आयोजना हुने अपेक्षा छैन । यसअघिको वैदेशिक नीतिसम्वन्धी श्वेतपत्र सन् २००३ मा होवार्ड सरकारले जारी गरेको थियो ।
विसोपको भनाईमा यो श्वेतपत्रले हालै उब्जेका फुटकर घटनाहरुमाथि प्रतिक्रिया जनाउने मात्र नभएर राष्ट्रिय हितका पक्षमा वृहत रणनीतिक योजना निर्माणमा केन्द्रित हुनेछ ।