नेपालमा कोरोना भयावह हुँदैन भन्नेमा म दृढ छुः डा. शेरबहादुर पुन

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  डा. शेरबहादुर पुन  898 पटक हेरिएको

कैलालीमा भारतबाट आएका एक पुरुषले घरमै रहेका परिवारका एक सदस्यलाई संक्रमण सारेपछि कोरोना भाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको नेपाल उदयपुरको एकै ठाउँ (भुल्के)मा २८ जना जमाती (मुस्लिम धर्मगुरु) मा कोरोना संक्रमण पुष्टि भएपछि त्रासको मात्रा ह्वात्तै बढेको छ।

विज्ञका अनुसार बाहिरबाट आएका व्यक्तिले स्थानीय व्यक्तिमा संक्रमण सार्नुलाई लोकल ट्रान्समिसन भनिन्छ र यसलाई दोस्रो चरण मानिन्छ भने संक्रमण जब समुदायस्तर फैलिन्छ तब त्यसलाई कम्युनिटी ट्रान्समिसन भनिन्छ र यसलाई तेस्रो चरण मानिन्छ।

जब उदयपुरको भुल्केमा एकै समूहमा २८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो तब नेपाल कोरोना महामारीको तेस्रो चरणमा प्रवेश गरेको हो कि भन्ने बहस सुरु भएको छ। र, सरकारले देशभरिका साथै उदयपुर रहेको प्रदेश २ उच्च सतर्कता अपनाएको छ।

तर इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे यसलाई तेस्रो चरण भन्न नमिल्ने बताउँछन्। उनका अनुसार यो ‘क्लस्टर’मा देखिएको संक्रमण हो, यसलाई तेस्रो चरण भन्न मिल्दैन।

नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘यसलाई समुदायस्तरमा फैलिएको भन्न मिल्दैन, यो एउटा समूहमा फैलिएको हो। विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक सार्वजनिक गरेको मापदण्डअनुसार यो क्लस्टरमा देखिएको संक्रमण हो।’

तैपनि एकै ठाउँमा यति (२८) धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपालमा भयावह अवस्था आउने हो कि भन्ने चिन्ता ह्वात्तै बढेको छ।

तर अझै पनि आत्तिनुपर्ने अवस्था नरहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको दाबी छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. पुन भन्छन्, ‘अब उदयपुरमा देखिएको संक्रमण तेस्रो चरणको हो कि होइन, त्यो त अध्ययन नगरी भन्न सकिँदैन र जसमा म आफू संलग्न छैन, तर म अझै के कुरामा दृढ छु भने नेपालमा इटली र अमेरिकामा जस्तो कोरोना फैलिँदैन, आत्तिनु पर्दैन।’

हुन त अरूले भन्दा १८० डिग्री फरकमा यस्तो सकारात्मक कुरा गर्दा आफूले तालीभन्दा बढी गाली भएको उनी बताउँछन्।

उनी भन्छन्, ‘मान्छे यतिबेला भयावह हुन्छ भन्ने कुरा मात्र पत्याउने अवस्थामा छन्। त्यसकारण मैले जहिले सकारात्मक र आशाको कुरा गर्ने गरेको छु। त्यो पत्याउन मानिसलाई मुस्किल परिरहेको छ।’

उनको तर्क छ, ‘हामी नेपाली हातले खाना खाने भएकाले खानुअघि र पछि अनिवार्य हात धुने गर्छाैं। तर विदेशी खाना खान चम्चा र काँटा वा चोपिस्टिक आदि प्रयोग गर्छन्। त्यस्तै धेरैजसो विदेशी भाँडाकुँडा पनि मेसिनले माझ्छन् भने लुगा धुँदा वासिङ मेसिन प्रयोग गर्छन्। अनि शौचालयमा समेत बढी पानीभन्दा पेपर प्रयोग गर्छन्। तर हामी नेपाली भाँडा माझ्न लुगा धुन बढी हातकै प्रयोग गर्छौं र प्रशस्त मात्रामा साबुन-पानी खेलाउँछौं। यस्तै नेपालीले मासु राम्रोसँग पाक्ने गरी वा प्रेसर कुकरमा पकाउने भएकाले त्यसमा रहेका जीवाणुरकीटाणु बच्ने सम्भावना हुँदैन। तर विदेशी मासुलगायत परिकार अर्धपाकेको खान मन पराउँछन्। हाल कोरोनाबाट बच्ने मुख्य उपायमा राम्रोसँग साबुन-पानीले हात धुनु र मासु राम्ररी पकाएर खानु पर्छन्।’

यस्ता परम्पराले कतै न कतै कोरोना संक्रमणको ‘चेन ब्रेक’ (साङ्लो चुँडाउने) काम गरेको छ भन्ने उनको विश्वास छ। नेपालमा इटली, अमेरिकामा जस्तो कोरोना भाइरस तीव्र गतिमा फैलिने सम्भावना नरहेको डा. पुन दाबी गर्छन्।

‘तर सँगसँगै म के कुरा छुटाउन चाहन्नँ भने त्यसो भनेर नेपालमा संक्रमण बढ्दै बढ्दैन भन्न खोजेको होइन। अझै केही संक्रमित देखिन सक्छन्। केहीको मृत्यु पनि नहोला भन्न सकिन्न। सकेसम्म त्यस्तो नहोस्। यसकारण अहिले सरकारले जुन लकडाउन गरेको छ। हामीले जुन नियम र सतर्कता पालना गरिरहेका छौं, त्यसलाई छाड्न हुन्न, अझ कडा पार्नुपर्छ,’ उनी भन्छन्, ‘तर आत्तिन, एकदम भयभीत हुन जरुरी छैन, इटली र अमेरिकामा जस्तो यहाँ कोरोना फैलिँदैन भन्नेमा म अझै दुढ छु।’

उनले अगाडि भने, ‘यो कुरा मैले तपाईंले नै पहिलोपटक भनें कि तपाईंलाई यादै होला एक-डेढ महिनाअघि भारतको बम्बईमा एसियाकै ठूलो मजदुर बस्ती छ, त्यहाँ केहीमा कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला मानिसले भनेका थिए- अब त्यहाँ खत्तम हुने भो, धेरै मानिस मर्ने भए। त्यहाँ एकै ठाउँमा १५-२० जनासम्म बस्छन्, सुत्छन्, तर त्यहाँ युरोप, अमेरिकामा जस्तो संख्यामा संक्रमण फैलियो त? फैलिएको छ? छैन। यसकारण नेपालसहित दक्षिण एसियाको जुन जीवन शैली छ त्यसले यो कोरोना भाइरस संक्रमणलाई कहीं न कहीं चेन ब्रेक गरिरहेको छ।’

अहिले उदयपुरमा २८ जना संक्रमित भेटियो भन्दैमा नेपालका सबै स्थानमा यस्तै स्थिति नआउने उनी दाबी गर्छन्। कुनै एक क्षेत्रमा त्यस्तो भयो भन्दैमा सबै क्षेत्रको अवस्था उस्तै नहुने उनको तर्क छ। ‘अमेरिकामै हेर्नुस्, न्युयोर्कमा जस्तै स्थिति अमेरिकाका सबै राज्यमा छ त,’ उनको प्रश्न छ।

यसो भनेर आफूले अहिले देश तथा नागरिकले अपनाइरहेको सतर्कतामा लत्तो छाड्नुपर्छ भनेको कदापि होइन भन्छन् डा. पुन। बरु यसलाई अझ कडा पार्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘बरु उदयपुरमा जुन संख्यामा संक्रमित देखिएका छन्। त्यसमा सरकारले भन्दा पनि त्यहाँका स्थानीय समुदाय आफैं बढी सतर्क हुन जरुरी छ। होसियारी अपनाउन जरुरी छ। भारतबाट जथाभावी मान्छे छिर्न दिनुभएन। सीमा नाकामा कडाइ गर्नुपर्छ।’

भर्खरै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीबाट उच्च जोखिममा झारिसकेको छ।

डा. शेरबहादुर पुन, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार