प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि ४४ दल दर्ता

  Manaslu Post  674 पटक हेरिएको

काठमाडौं– निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सबै राजनीतिक दलहरुलाई पुनः आह्वान गरेको छ ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउन सबै राजनीतिक दलहरुलाई पुनः आग्रह गरेका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आगामी आइतबारसम्म दल दर्ता गर्न निर्वाचन आयोगले यसअघि नै सूचना जारी गरिसकेको छ । प्रवक्ता शर्माले अव दल दर्ताका लागि म्याद थप गर्ने सम्भावना नरहेको पनि स्पष्ट पारे । उनले शुक्रबारसम्म ४४ वटा राजनीतिक दलहरुले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको पनि जानकारी दिए ।

संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लािग राजनीतिक दलहरुले निर्वाचन आयोगमा अनिवार्य दल दर्ता गराउनुपर्ने व्यवस्था छ । आयोगका प्रवक्ता शर्माले असार मसान्तसम्म राजनीतिक दलको रुपमा दर्ता भएका राजनीतिक दलहरुले मात्रै निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको स्मरण गराए ।

निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतको ८ वटा जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको तयारीको काम पनि अन्तिम चरणमा पुगेको पनि स्पष्ट पारेको छ । आयोगले आगामी सोमबारबाट निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याउने जनाएको छ । आयोगले यसअघि नै मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याईसकेको छ ।

प्रवक्ता शर्माले अहिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गराउने काम भइरहेको पनि जानकारी दिए ।सरकारले पछिल्लो पटक ९ वटा स्थानीय तहको संख्या बढाएपछि आयोगले प्रदेश नम्बर दुईको मतदाता नामावली अध्यावधिक गर्ने कामलाई तीव्रता दिएको हो ।

प्रदेश नम्बर २ अन्तरगत १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ । आयोगका प्रवक्ता शर्माले पछि थपिएका ९ वटा स्थानीय तहमा पनि निर्वाचनको सामग्री व्यवस्थापन गर्ने काममा आयोग लागि परेको स्पष्ट पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार