धुलाचौर बाजुरा — छेवैमा नीलो रंगमा सलल बगिरहेको शान्त कर्णाली नदी । त्यही किनारमा हुम्ला, मुगु र बाजुराका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय वेशभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा उतारेको छ ।
पूर्वोत्तरमा पर्ने बाजुराको कुण्डा क्षेत्रमै पहिलो पटक यसरी एकै थलोमा एकै साथ स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिएका छन् । कुण्डा क्षेत्रको विकासका सम्भावनाको पहिचान र कर्णाली सम्भयताको जगमा बनेका स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक बाजुरा, हुम्ला र मुगुको संगम कर्णाली किनारमा रहेको बाजुराको धुलाचौरमा सोमबारदेखि महोत्सवको आयोजना गरिएको छ । बाजुराको कुण्डा क्षेत्रका हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।
महोत्सवमा गायन क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका बाजुराका बाल गायक सुप्रिम मल्ल, प्रभुराज पाण्डे, विनोद बाजुराली, प्रकाश थापा, हर्क खडायतलगायतका स्थानीय संस्कृति झल्किने गीत संगीतले यहाँको माहौल झुमिरहेको छ । कुण्डा क्षेत्रका नागरिक अगुवा जनेश भण्डारीले कुण्डा क्षेत्रमा पहिलो पटक भएको यस महोत्सवले यहाँका पर्यटकीय गन्तव्य र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने मात्र नभई कर्णाली क्षेत्रको कला र संस्कृतिको संरक्षण गर्न पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
‘महोत्सवलाई माध्यम बनाएर पछाडि परेको यस क्षेत्रको विकास सम्भावनाबारे औपचारिक बहसको थालनी हुनु अर्को महत्त्वपूर्ण पक्ष हो,’ उनले भने । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बाजुराको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य रहेको बताए । ‘बाजुरा भन्नेबित्तिकै लडाइँ–झगडा हुने, काटमार हुने जिल्लाको परिचय बनेको छ । अहिले त जिल्लामा सीडीयो, डीएसपीलगायतका अफिसरहरू पनि सकभर बाजुरा आउन चाहँदैनन्,’ सांसद पाण्डेले भने, ‘कांग्रेसको तलदेखि माथिसम्मको जिम्मेवारी म लिन्छु, एमालेको जिम्मेवारी लिन कर्णबहादुर थापालगायत तयार हुन पर्यो ।
’कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर विकास निर्माणका सवालमा एकजुट भएमात्रै पछाडि परेको बाजुरालाई उठाउन सकिने बताए । ‘मानव विकास सूचकांकमा पुछारमा परेको बाजुराको विकासका लागि प्रदेश सरकारले प्राथमिकता दिनेछ,’ स्थानीय समेत रहेका मन्त्री शाहीले, ‘विकासका योजनाहरूमा समूदायको अपनत्वले मात्रै गुणस्तरीय काम हुनसक्छ ।’
हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले तल्लो हुम्लाको चारवटा पालिकाको ढोकाका रुपमा रहेको बाजुराको हिमाली गाउँपालिकामा आयोजित महोत्सव र विकास क्रियाकलापले हुम्लालाई पनि फाइदा हुने बताए । महोत्सव बुधबारसम्म चल्ने छ । बुधबार कर्णाली नदीमा जलयात्रा र विकास बहसहरू सञ्चालन गरिने आयोजकले बताएको छ ।