आफ्नो समाजमा जोकोहीलाई सुख दुखमा हर्ष विस्मातमा जहाँसुकै जुनसुकै बेलामा उपस्थित भएर सकेसम्म आडभरोसा र साथ दिन भ्याउने समाजका सहृदयी मनका धनी मात्र नभएर देशका विभिन्न क्षेत्र र विशिष्ट विधाहरुमा महत्वपूर्ण योगदान दिनुहुने मीन बहादुर गुरुङ देशकै नीधिमा दरिन्छन् । आदिबासी जनजाती सरल सोझा सिधा गुरुङका छोरा, नेपालको खोटाङ जिल्लाको दुर्गम र विकट रावा दुबे गुरुङ गाउका सामान्य घरपरिवारबाट राजधानी काठमाण्डौमा आए । जागिर खादै पढे पढाइ पुरा गरे । पछि जागिर छाडेर फूलटायम व्यापारमा लागे। अथक अहोरात्र लामो संघर्षका वावजुद पसिना बगाएर एक सफल अब्बल दर्जाको व्यापारीक हस्ती एवम् दुरदर्शी,महत्वाकांक्षी उद्यमशील व्यवसायी बने मीन बहादुर गुरुङ । उहाँले आफ्नो आम्दानीको एक हिस्सा समाजमा योगदान गर्ने र देशको अर्थतन्त्रलाई बढावा दिन र रोजगारीका अवसरहरू सिर्जना गर्ने उपायहरू खोज्ने महत्त्वलाई प्राथमिकता दिनु हुने उहाँ एक मानवीय समवेदनशील सकारात्मक, विशिष्ट विभूषनहरुद्वारा विभुषित व्यक्ति विशेष । नेपाली जनसाधारणले गर्व अनुभव गर्न सक्ने एउटा सर्वमान्य सामाजिक आधार बनाउन सफल भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिको अध्यक्ष मीन बहादुर गुरुङको सफलतालाई राष्ट्रिय स्तरमै स्वीकृत गर्न उत्कृष्ट उदाहरण हो । इमान्दार, वफादार र लगनशिलताका साथ देशको माया मुटुमा राखेर नेपालमै बसेर घोडा धसेर एउटा सानो कोल्डस्टोर पसलबाट सुरु गरेर डिपार्टमेन्टल स्टोर, भाटभटेनी सुपर मार्केटहरु खोले । आफ्नै सुन्दर देशमा सुन्दरतर, सुरक्षित र समृद्ध भविष्यको सपना देखेर अविचलित अविरल अहोरात्र दत्तचित्त खटाइले बिस्तारै उहाँको सुपर मार्केट बजारहरु नेपालभरी नम्बरवान् लोकप्रीय सुपर मार्केट बन्यो आफै मरी मेटेर पसिना बगाएर गरेको दशकौं वर्ष लामो अनवरत मेहनतले हिम्मतले । देशव्यापी रुपमा एक निश्चित मूल्य, डिजिटलाइज्ड एकरुपता, आर्थिक पारदर्शी व्यापारको आफ्नै मौलिक, सुन्दर र आकर्षक साम्राज्यमा, लाखौलाख ग्राहकहरुबाट प्रचुर गुडविल कमाएका, उहाँको आलीशान सुपर मार्केटहरुले उहाँलाई एउटा शालीन सुपर स्टार उद्यमी व्यवसायी बनायो । इतिहासले यस्ता धेरै समाजसेवीहरु, महान नेताहरू र नैतिकवान उद्यमी व्यवसायीहरु देखेको छ जसले देश र समाजको कठोर वास्तविकताको शिकार हुन पुगेका कारण सतीले सरापेको देश भनेर धेरैले भन्न पनि चुक्दैनन् । क्षणिक सफलता र सस्तो लोकप्रीयतामा हिड्ने व्यक्ति होइन मीन बहादुर गुरुङ उहाँको चार दशक लामो संघर्ष त्याग तपस्याले पुष्टि गर्दछ ।
लेखक ः विआरजी ज्योतिर्मय
देशका सरकारहरुले नीजी क्षेत्रका मीन वहादुरहरु जस्ता उदिएमान उद्यमी व्यवसायीहरुलाई एवम् प्राविधिक प्रगतिहरुलाई समेत प्रोत्साहन र प्रवर्द्धन गरेर विश्वव्यापी मञ्चमा राष्ट्रको प्रतिस्पर्धात्मक क्षमतालाई अविच्छिन्न अभिवृद्धि गर्न गराउन सकारात्मक अग्रणी भूमिका खेल्नु पर्छ, न कि कुनै फोहोरी राजनीतिक खेलहरु । यसर्थ यथार्थमा सरकारहरुले मुलुकमा दिगो आर्थिक वृद्धि, रोजगारी सृजना र समग्र सामाजिक समृद्धि एवम् आफ्ना नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउनका लागि निजी क्षेत्रहरूलाई प्रोत्साहन, प्रवर्द्धन र सशक्तिकरण गर्न गराउन महत्वपूर्ण हुन्छ । तर यसको ठीक विपरित धुर्वमा सरकारका विभिन्न क्षेत्रहरूमा भ्रष्टाचार, नातावाद र अनैतिक प्रचलन मौलाएको छ । इमानदार र सक्षम व्यक्तिहरू, नीजि उद्यमहरू प्रायः किनारिकरणमा परिरहेका वा पारिएका हुन्छन्, जबकि भ्रष्ट अभ्यासहरूमा संलग्न हुनेहरू फस्टाउँछन् । देशमा सबै सरकारहरु, कर्मचारीहरु र नेताहरु भ्रस्ट छन् भन्न खोजिएको होइन राम्रा पनि छन् सामाजिक पद्धतिहरुमा सुधार पनि आएको छ हल्का परिवर्तन पनि नभएको होइन र पनि सम्भावित विकराल आर्थिक संकट, मौजुदा आकाशिंदो मूल्यवृद्धि, बढ्दो वेरोजगारी, विभिन्न बिचौलिया, कतिपय घूसखोर भ्रष्ट अभ्यासहरुमा अभ्यस्त अधिकारीहरु र भ्रष्ट नेताहरु एवम् उनका ठाडा आदेशहरुले देशको समस्या चर्काएको छ । जसले गर्दा राजनीतिक अस्थिरता, आर्थिक चुनौतीहरू र आधारभूत सुविधाहरूको अभाव लगायत यी विभिन्न कारकहरूकै कारण लाखौलाख हाम्रा उर्जाशील युवायुवतीहरुले अन्यत्र राम्रा अवसरहरूको आशामा, सुन्दर, सुरक्षित, समृद्ध र सुनिश्चित भविष्यको खोजीमा देश छाडेर जान बाध्य छन् । पौरखी पाखुरी र प्रतिभाको यो ठूलो पलायनले देश आक्रान्त छ । दिनहुँ हजारौं युवायुवतिहरु आफ्नो मातृभूमि छोड्ने क्रम जारी छ । यस्तो मानव प्रकृति र प्रवृत्तिको अन्तर्निहित जटिलताहरू, विषमताहरु छिचोल्दै विगत चार दशकमा मुलुकमा आइपरेका कैयौं उतारचढाव र चुनौतिहरुसंग सधै संयमित र सन्तुलित भएर सामाना गर्दै मीन वहादुर गुरुङले देशमा दशौ हजारलाई रोजगारी दिएर अनगिन्ति घरपरिवारहरुको चुलोचौको चलेको छ, हातमुख जोडेको छ, धेरैको खुसियालीपूर्ण जीवनरेखा बनेको छ ।
भ्रष्टाचारले ग्रसित देश, समाज, प्रणालीमा आशाको किरण बनेर उभिएका नीजि क्षेत्रका कर्मशील प्रतिष्ठित व्यवसायी मीन बहादुर गुरुङ । एकाएक ०८० असार १२ गते मंगलबार विहानै देशको एउटा हिरालाइ हिरासतमा लिएको सुन्दा थाहा पाउदा बडो असहज र अचम्म लागेको छ । उनैलाई ललिता निवासको ठगी किर्ते जालसाजी प्रकरणमा मुचेर उत्पिडनमा राखिएको र हतोत्साहित गरिएको महसुस भएको छ । यस विषयमा सम्मानित अदालतको खोज, अध्ययन, अनुसन्धान र न्यायिक प्रक्रियालाई राम्ररी र निष्पक्ष, व्यापक रूपमा सञ्चालन गर्न जरुरी छ । कुनै पनि मुख्य दोषी व्यक्ति कानूनी दायराबाट भाग्न पाउनु हुँदैन, र कुनै पनि निर्दोष व्यक्तिलाई गलत रूपमा फसाउनु हुँदैन । भनाई छ “दश जना दोषी छुट्नुभन्दा एक जना निर्दोष फस्नु नराम्रो कुरा हो ।” देशमा नीतिगतभन्दा पनि नियतगत एवम् संस्थागत भ्रष्टाचार, संगठित अपराधको संजाल र अबसरवादी मतियारहरुले एक सरल र सोझा सिधा विचारधाराका आदिवासी जनजाती पृष्ठभूमिबाट आएका मीन बहादुर गुरुङलाई कसरी कुन प्रपञ्च र चङ्गुलमा फसाए फसे बडो रहस्यपूर्ण छ ।
सबैका लागि समान अवसर सुनिश्चित गर्ने पारदर्शी र जवाफदेही प्रणालीको खोजीमा सरकार र आम जनता एकजुट हुनु आवश्यक छ । नेपालमा भ्रस्टाचारको यो नेभर इण्डिङ स्टोरी अब अन्त हुनुपर्छ । भ्रष्टाचार उन्मूलन र पारदर्शिताको प्रवर्द्धन गरेर, स्वदेशमै दक्ष रोजगारी पैदा गरेर मात्र नेपालले आफ्नो सर्वाङ्गीण विकास, पूर्ण क्षमता हासिल गर्न र आफ्ना नागरिकहरूको उज्ज्वल भविष्य प्रदान गर्न सक्छ । देश कृषी प्रधान भएकोले कृषीलाई पहिलो प्राथमिकता दिएन भने, देशका व्यापारी व्यवसायीहरुले विदेशी माल समानहरुलाई मात्र बढवा दिएर स्वदेशको स्थानीय उत्पादन सामग्रीहरुलाई “लोकल फस्ट” को रुपमा-बजारमा सर्वथा पहिलो प्राथमिकता दिएन भने, परनिर्भरता बढाउछ देश आत्मनिर्भर हुदैन । देशमा सुशासन भएन भने, विधिको शासन भएन भने, कानूनीराज भएन भने देश अवश्यमेव अराजक हुन्छ देश असफल हुन सक्छ, त्यसैले कानूनी राज्यमा न्यायपूर्ण समाजमा कानूनको नजरमा धनी होस या गरिब, ठूलो होस या सानो सबै समान हुन र सबैका लागि समान हुनुपर्छ । र व्यक्तिगत लाभका लागि सार्वजनिक या सरकारी जग्गा वा सम्पदा कुनैपनि व्यक्ति वा संस्थालाई हस्तान्तरण या बेचबिखन विक्रिवितरण गरिनु सरासर अवैध हो । नेपालको कुनै पनि भूभागको सार्वजनिक या सरकारी जग्गाको एकेक इन्च समग्र करोडौं नेपाली जनताको समान हक अधिकार र स्वामित्वको हो, यो कुनै एकदुई जना व्यक्ति वा कुनै समुह विशेष संघ संस्थाको कब्जामा वा हालीमुहालीमा वा हिनामिना हुनुहुदैन । सदा सर्वदा सार्वजनिक स्वामित्व विरुद्ध कुनै पनि भेदभावपूर्ण अभ्यास वा नीतिहरू कडा रूपमा निषेधित छन् हुन्छन् र हुनुपर्छ ।
वस्तुत खराब काम गर्नेभन्दा गराउने र अह्राउने दोषी हुन्छ, खराब सामान किन्नेभन्दा बेच्ने र बनाउने दोषी हुन्छ । तर सुनिन्छ काठमाण्डौ बलुवाटार स्थित ललिता निवास जग्गा प्रकरण घटनाका मुख्य ग्राण्डडिजाइनर दोषीहरू भूमाफियाहरु जो ‘सेटिङ, प्लटिङ र लुटिङ’ का प्रमुख सुत्रधारहरु भने खुलेर घुमिरहेका छन् । सरकारका कतिपय सरकारी तह तप्काका कर्मचारीहरु र नियमक निकायहरु समेतका द्वेद चरित्र र डबल स्ट्यान्डरका कारण कसैलाई काखा कसैलाई पाखा हुनु घोर भत्सर्ना – खबरदारीका विषयहरु हुन् । देशका लागि असल नियत भएका मीन बहादुर ललिता निवास जग्गा काण्डमा हिरासतमा पर्नु दुर्भाग्यपूर्ण छ । मीन बहादुरलाई जग्गा बेच्नेहरु बेपत्ता हुँदा उनलाई किन हिरासतमा राखिएको हो र जमानतमा पनि किन नछुटेको हो भन्ने स्पष्ट छैन तथापि आशा छ चाँडै छुट्ने तर्जुमा गरेर तारिखमै यो मुद्धा लडेर टुङ्ग्याउने व्यवस्था होला । खासगरेर हिरासतमा वा पूर्वपरीक्षण हिरासतमा हुनु भनेको अपराध स्वीकार गर्नु वा व्यक्तिको निर्दोषताको सङ्केतको रूपमा स्वतः बराबर हुँदैन भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ। कसैलाई थुनामा राख्ने निर्णय भनेको प्रमाणको निष्पक्षता, साबधानी र पूर्ण जाँच पड्ताल गर्न र कानूनको नजरमा उनीहरूको अपराध वा निर्दोषता स्थापित गर्नको लागि लिइएको अस्थायी उपाय हो । “इन्नोसेन्ट अन्टिल प्रुभन गिल्टि” जोकोही पनि हिरासतमा हुदैमा दोषी हो भन्ने भाष्य खडा गर्नु गलत हो । रह्यो कानूनको विषय यो भावनात्मक भन्दा पनि कानूनी विषय प्रक्रिया आफैमा प्राविधिक र प्रमाणमा आधारित प्रक्रिया हो । कोही हिरासतमा अर्थात् थुनामा छ वा थुनामा छ कि छैन त्यो सजायको विषय होईन । गुरुङ दोषी वा निर्दोषी हो वा होइन भनेर गैरभेदभाव ठहर गर्ने या निर्णय गर्ने सम्मानित अदालतको अधिकार क्षेत्रको कुरा हो ।
अन्तत्वगत्वा ती अमुक फलाना व्यक्तिहरुबाट जग्गा खरिद गर्दा राज्यले माग गरेको तोकिएको सम्पूर्ण राजस्व पारदर्शी ढंगले तिरेको मीन बहादुर गुरुङले राज्यको प्रचलित ऐन कानून नीति नियम पालना गरेको र यस सम्बन्धमा उहाँका बैङ्किङ कारोबार, सबै सही ठहर्याएर राजस्व कर वाकाइदा लिएर लालपुर्जा दिने मालपोत कार्यालय, लिखत र सम्बन्धित सबै अधिकारिक निकायहरु साक्षी किनाराका औपचारिक गवाहीहरु हुन् । यो अवस्थाले कानूनी प्रक्रियाको निष्पक्षता र जवाफदेहितामाथि पनि प्रश्न खडा गरेको छ । विडम्वनाको कुरा के छ भने यो मुद्दामा संगै समातिएका सातजनाहरु मध्य तीन जना भने सोही दिन साँझ अदालतका स्टे अर्डर र अदालतको अन्तरिम आदेश देखाएर कति सजिलै कति छिटो छुट्न पनि सफल भए भन्ने पनि सुनियो । त्यसो त अन्तरिम आदेश अन्तहीन हुदैन तथापि कुनै राजनैतिक शक्तिको हेरफेर, हस्तक्षेप वा दवाव र प्रभावले यो मुद्धा न्यायीक निष्कर्ष विहिन नहोस् ।
निचोडमा भन्नु पर्दा मुलुकमा आधिकारिक स्रोतहरूबाट पारदर्शी आम्दानीको सीमित अवसर र गैर जिम्मेवार सत्तासीनहरुका कारण धेरैले ठूलो रकम कमाउनको लागि चोरी, ठगी, घुसखोरी, कालोबजारी र भ्रष्टाचारको सहारा लिन बाध्य महसुस गर्छन् । यो चक्रले एउटा दुष्चक्रलाई निरन्तरता दिन्छ, जहाँ एउटा भ्रष्टाचारले अर्को थप भ्रष्टाचारलाई जन्म दिन्छ, अन्तत बाँच्नको लागि अवैध धन्दा, गैरकानूनी गतिविधिर दाउपेचहरूमा फसेको अराजक समाजलाई निम्त्याउँछ र राष्ट्रलाई असफलतातिर धकेल्छ, यस्तो कदापि नहोस् । र हुन दिनुहुन्न सबै सचेत, सतर्क, जागरुक र खबरदार हुन आवश्यक छ । अहिले हेर्दै र बुझ्दै जाँदा, लहरो तान्दा पहरो थर्कियो, प्रकारन्तरमा ललिता निबास प्रकरणले तत्कालीन राज्य संयत्र नै तानिन्दै आएको देखियो । मौजुदा परिस्थिति, परिवन्धहरु र त्रुटिपूर्ण राज्यसंयन्त्र, ललिता निबास प्रकरण, मीनबहादुर गुरुङले पाउनु पर्ने न्यायको खोजीलाई सरसर्ति नियाल्दा भाटभटेनीका संचालक अन्यायमा परेको आभास हुन्छ । देशको अर्थतन्त्र, रोजगारी सृजना र असंख्य परिवारलाई सहयोग गर्न उहाँको महत्वपूर्ण योगदानहरुलाई यो दुर्भाग्यपूर्ण अवस्थाले ओझेलमा पार्नु हुँदैन । तुरुन्त र निष्पक्ष रूपमा न्याय होस् जुन् न्यायको अर्थ परिस्थितिको निष्पक्ष मूल्याङ्कन चाहिन्छ, सत्यलाई नबिगारी वा तथ्यहरूलाई गलत लेबलिङ नगरी न्याय प्रदान गर्नु निर्विवाद, महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ । आशा गरौं सत्यको जित होस्, जोकोही मुख्य दोषीहरुलाई कारवाही होस्, र यथाशीघ्र सम्मानित न्यायको मन्दिरबाट मीन बहादुर गुरुङलाई उहाँले पाउनु पर्ने न्याय होस् ।
BRG Jyotirmaya