मगर समुदायले दुई दिन टुँडिखेलमा ‘माघे सकराती’ मनाउँदै

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मन बहादुर पुन  48 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा आफ्नो प्रमुख पर्वका अवसरमा पुस २९ र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक कौडा नाच प्रतियोगीता, साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरु  र खेलकुदको प्रर्दशनी गरिने बताइएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुने बताइएको छ ।

माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिन देखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिन देखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को फुल लिएर घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ ।

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ ।

साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ ।

नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको राष्ट्रिय आदिवासी जनजाति ‘मगर’समुदाय भित्र पनि साँस्कृति, भाषिक र सामाजिक विविधता रहेको भन्दै मौलिक साँस्कृतिक रुपले मगरहरुले माघेसकराती, भूमेपुजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दै आएका छन् । भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–साँस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु, टप्पा, सरङ्या, झ्याम्रे, यानीमाया, फाँङ्क आदि नाँचगान प्रचलित छन् ।

मगर समुदायले माघे सकराती पर्वमा आफ्नो चेलिबेटीहरुलाई पूजा गर्ने विभिन्न खानेकुरा तथा उपहारहरु यस सकरातीमा दाजुभाइ,माइतीहरुले चेलिवेटीलाई दिने चलन रहेको छ । यही क्रममा लडाइको कला सिकाउने, धनुषवाण हान्ने चलन समेत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार