काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा साइबर अपराधसम्बन्धी १३ हजार तीन ३३० निवेदन प्रहरीमा दर्ता भएको छ।
साउनदेखि माघ २३ गतेसम्म सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ निवेदन दर्ता भएको हो। यस्तैसूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार ९०५ छन् । साइबर अपराधमा मुद्दा चलेकामध्ये हालसम्म ५१ जना पक्राउ परेका छन्।
नग्न तस्विरमा व्यक्तिको मुहार जोडी विभिन्न सामाजिक सञ्जालमा राख्ने, अश्लील तस्विर तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने प्रवृत्ति बढेको प्रहरीले जनाएको छ। यस्तै सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने सरकारी तथा अन्य संघसंस्थाको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्नेक्रम पनि बढेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको बताउँछन्।
सात महिनामा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक म्यासेञ्जरको दुरूपयोगका नौ हजार ३५०, भाइबरका १६, इमोका ६, युट्यबका ३९, ट्वीटरका ६, इन्स्ट्राग्रामका ४३२ र वेबसाइट ह्याकिङका ६ वटा छन्। यस्तै टिकटकका ६६७, इमेलका ८०, ई-सेवाका १९० र अन्य साइबर अपराधतर्फ ११८ वटा छन्।
यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध सामाजिक सञ्जाल ह्याकका ४३ , उपहार र पैसा पठाएकोसम्बन्धी २६४ र लोटरी परेको प्रलोभन देखाइ ठगी गरेका ३३ वटा छन्। वैदेशिक रोजगारको प्रलोभनका ३८, अनलाइन जागिर कोठा खोजी दिनेतर्फ ३५ र बैंक तथा वालेट अफिसबाट बोलेको भनेर एकाउन्ट ह्याकका १५२ वटा छन्।
मास्टर कार्डरमनी एक्सचेञ्जसमेत ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका ४६०, सामाजिक सञ्जाल फेक आईडी ६७ वटा र अन्य साइबर अपराधमा २६२ वटा उजुरी परेका छन् ।