इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएसँगै एमाले चुनावी गतिविधिमा लागिसकेको छ । एमालेले स्व. सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी गृहजिल्ला आएर मतदातासमक्ष चुनावी मैदानमा उत्रिएका छन् । बिहीबार इलाम सदरमुकाम हुँदै इलाम नगरपालिका–२ को सुम्बेगमा पुगेका सुहाङ शुक्रबार देउमाई नगरपालिकाको मंगल’boutमा मतदातामाझ पुगेका छन् । नेकपा एमाले इलामका सचिव उमेश गुरुङले निर्वाचन क्षेत्र नं. २ का सबै वडामा मतदातामाझ पुग्ने कार्यक्रम रहेको बताए ।
मतदातामाझ पुगेका सुहाङले आफू इलाम–२ बाट उम्मेदवार बन्दैगर्दा नेकपा एमालेका तर्फबाट मात्रै नभएर सिंगो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूको माया पाएरै तपाईंहरूमाझ आएको छु, अहिलेसम्म बुबाले अघि बढाएका योजना र बुबाको सपनालाई पूरा गर्न आएको छु, तपाईंहरूले माया गर्नुहुन्छ भन्ने अपेक्षा राखेको छु ।’ आफू उपनिर्वाचनका लागि मैदानमा आउँदै गर्दा जनताको विकास र समृद्धिका एजेन्डा बोकेर इलामको विकासका लागि आएका बताएका छन् ।
रास्वपाबाट मिलन लिम्बु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लामा रास्वपाको माहोल पनि तातेको छ । उम्मेदवार बन्न ६ जनाले निवेदन दिएकामा अन्यले निवेदन फिर्ता लिएपछि लिम्बुको उम्मेदवारी आधिकारिक भएसँगै आज (शनिबार) रास्वपाको टोली उम्मेदवार लिएर जिल्लामा कार्यक्रम गर्ने तयारीसाथ इलाम आएको छ । इलामकै माङ्सेबुङ गाउँपालिका घर भएका लिम्बु पूर्वसञ्चारकर्मी हुन् । उनले यसअघि कुनै पनि दलबाट उम्मेदवारी नदिने भन्दै आफू स्वतन्त्र उम्मेदवार भएको घोषणा गरेका थिए । तर, अहिले उनी रास्वपाबाट मैदानमा आउने भएका हुन् ।
एकीकृत समाजवादीबाट राई
सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले इलाम उपनिर्वाचनका लागि जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट माईजोगमाई गाउँपालिकाको अध्यक्षमा विजयी राई उपनिर्वाचनमा उम्मेदवार बन्ने पक्का भएको हो । तर, उनी यसअघि ३१ वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा भने एमालेकै उम्मेदवारसँग पराजित भएका थिए । यसअघि नेकपा (एस)बाट पूर्वप्रधानमन्त्री झालनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसीसमेत उम्मेदवार बन्ने चर्चा थियो । तर, खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा मात्रै अघि सार्न खोजेको थियो ।
पहिचानवादीबाट थेगिम
इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरूले डकेन्द्रसिंह थेगिम लिम्बुलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । कोशी प्रदेशको पुनः नामकरण संयुक्त संघर्ष समितिले डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेको हो ।
इलाम जिल्ला क्षेत्र नं २ मा कोशी प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिका तर्फबाट विगत १७ फागुन २०७९ बाट जारी आन्दोलनको अग्रपंक्तिमा सशक्त नेतृत्व गर्दै आएका डकेन्द्रसिंह थेगिमलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको बताइएको छ । डकेन्द्रसिंह पहिचानसहितको ‘प्रदेश नं १ पुनः नामकरण अभियान समिति’का संयोजक हुन् । किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्षसमेत रहेका डकेन्द्रसिंहले किराँत धर्म तथा साहित्य उत्थानका लागि काम गर्दै आएका छन् ।
दललाई उम्मेदवार टुंग्याउन सकस
कांग्रेसमा सात जना
एमाले, रास्वपादेखि बाहेकका अन्य दलमा उम्मेदवार टुंगो लगाउन सकस भएको छ । गत निर्वाचनमा १ सय १४ मतले एमालेसँग पराजित बनेको नेपाली कांग्रेसमा सात जनाको नाम सिफारिस भएसँगै उम्मेदवार टुंगो लागेको छैन । कांग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राईको नाम सिफारिस गरेको छ । तर, २०७९ सालको निर्वाचनको उम्मेदवार रहेका कांग्रेस सभापति खड्काकै सम्भावना बलियो रहेको कांग्रेस नेता बताउँछन् । उनी नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतान्तरले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।
माओवादीबाट चार जना
माओवादी केन्द्रले इलाम उपनिर्वाचनका लागि चार जनाको नाम केन्द्रमा पठाएको छ । धिरेन्द्र शर्मा, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिसमा परेको हो । माओवादीबाट कसको टिकट आउँछ भन्ने टुंगो छैन । २०७४ सालको निर्वाचनमा इलाम–२(ख) बाट प्रदेशसभा सदस्य धिरेन्द्र शर्माको सम्भावना देखिए पनि गठबन्धनमा नै रहेर एमालेलाई सघाउने कि छुट्टै मैदानमा जाने भन्ने दोधार देखिन्छ ।
राप्रपाबाट तीन जना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले तीन जनाको नाम सिफारिस गरेको छ । राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए ।
यस्तो थियो गत निर्वाचनको समानुपातिक मत परिणाम
४ मंसिर २०७९ मा सम्पन्न निर्वाचनमा इलाम–२ का मतदाता १ लाख १५ हजार ३ सय ४२ रहेकामा ६९ हजार ४ सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार ८ सय ८५ मत सदर र २ हजार ५ सय ९६ मत बदर भएको थियो ।
सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार ५ सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, माओवादी केन्द्रले ५ हजार १ सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६ सय ६८, मंगोल नेसनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय १३ मत पाएका थिए । यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ३ सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ९१ र जनता समाजवादी पार्टीले ९ सय ६ मत प्राप्त गरेका थिए ।
अघिल्लो निर्वाचनमा पार्टीले पाएको मतपरिणामलाई विश्लेषण गर्ने हो भने एमालेका लागि उपनिर्वाचन जित्न सहज देखिछ । तर, पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा पहिचानवादीका साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण ठूला दललाई निर्वाचन जित्न सहज भने देखिँदैन ।
तयारीमा निर्वाचन कार्यालय
यता, जिल्ला निर्वाचन कार्यालय इलाम पनि उपनिर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयलले जानकारी दिए ।
निर्वाचन आयोगको कार्यतालिकानुसार उपनिर्वाचनका लागि २४ देखि ३० फागुनसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिसकेको छ । त्यस्तै, २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
कार्यतालिकानुसार उम्मेदवारी मनोनयन दर्ता २४ चैतलाई तोकिएको छ । सोही दिन उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने कार्यतालिका छ । २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र २६ चैतमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै, २७ चैतमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको फुँयलले बताए ।
२८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको अवधि राखिएको छ भने १५ वैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ । उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा १ सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी फुँयलले बताए ।
उपनिर्वाचनका लागि इलामका मतदाता २ लाख २७ हजार १५ पुगेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्णबहादुर लिम्बुले जानकारी दिए । अपरेटर लिम्बुका अनुसार महिला १ लाख ९ हजार ९ सय ३४, पुरुष १ लाख १७ हजार ७९ र अन्य दुई जना रहेका छन् ।