मुलुक नै भारी वर्षाको चपेटामा

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  19 पटक हेरिएको

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकालगायत मुुलुकभरको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछिको बाढी पहिरोका कारण काठमाडौंसहित मुलुकका विभिन्न भागमा गरी तीन जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् । मुलुकका अधिकांश राजमार्ग बाढी पहिरोको चपेटामा परेको छ ।

अविरल वर्षाका कारण काठमाडौंको नागार्जुन नगरपालिका–३ मा शनिबार बिहान खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेस्टुरेन्टमा काम गर्ने २२ वर्षका मनोज विकको मृत्यु भएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको जानकारी दिए ।

यसैगरी, स्याङ्जाको बिरुवा गाउँपालिका–६ लामाखेतमा खनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए । पहिराको जोखिममा परेपछि आफ्नो घरबाट सुरक्षित स्थानमा जाँदै गर्दा उनीहरू पहिरोमा पुरिएका हुन् ।

बिरुवा गाउँपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरीचौकीको टोलीले उद्धार गरेको थियो ।

पर्वतमा पहिरोले दुई जना पुरिएका छन् । फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरो जाँदा दुई जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैंसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका हुन् ।

यस्तै, दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीनवटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएको गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए । छ्योतछयोत सिमिगाउँका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन् । गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन् । सोही स्थानमा बाढीले तीनवटा घरसमेत बगाएको छ ।

यसैगरी, बाढीमा परी दाङमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार बिहान राप्ती नदीमा बगेर दूध बिक्रीका लागि लमही आएका राजपुर गाउँपालिका–२ का १८ वर्षीय राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए । लमहीबाट दूध बेचेर फर्किंदै गरेका राजपुर गाउँपालिका–२ का तीन जना लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका थिए । यसैगरी, गढवा गाउँपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको दुई जनाको उद्धार गरिएको छ । खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो भने ट्र्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको थियो ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर शनिबार तीन जना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर स्थानीय तीन जना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेका छन् ।

अविरल वर्षाका कारण, सिद्धार्थ राजमार्ग अवरुद्ध, बीपी राजमार्ग, हेटौंडा–काठमाडौं सडकखण्ड, कान्ति राजपथ, बेंसीसहर–चामे सडक, घोराही–तुलसीपुर सडकखण्ड, कर्णाली राजमार्ग अवरुद्ध बनेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार