काठमाडौं : भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ ।
कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो । हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन् ।
अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला चिकित्सकको बलात्कारपछि हत्या भएको अबस्थामा शव भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त घटनापछि राज्यका सबै सरकारी अस्पतालका चिकित्सकहरुले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनरत चिकित्सकहरुले सम्पूर्ण काम ठप्प पारेका छन् ।
अस्पतालमा डाक्टर नै सुरक्षित नभएपछि सर्वसाधारणको उपचार कसरी गर्ने भन्दै उनीहरुले आक्रोस समेत पोखेका छन् ।
सीसीटीभी फुटेजको सहयोगमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाका दोषीलाई कडाभन्दा कडा सजाय दिने बताएको छ ।
मुख्यमन्त्री ममता बनर्जीले मृतक चिकित्सकका परिवारलाई भेटेर दोषीलाई मृत्युदण्ड दिने आश्वासन दिएकी छन्। घटनाको छानबिन गर्न सरकारले ११ सदस्यीय समिति गठन गरेको छ ।